शैक्षिक अभियन्ता घिमिरे विश्वभरिको २० प्रभावशाली व्यक्तिको सूचिमा !
नेपालमा सामुदायिक विद्यालयको सुधार तथा रुपान्तरणको मुद्धा लिएर देशव्यापी अभियानको नेतृत्व गरिरहेका अभिषेक घिमिरे विश्वभरिका प्रभावशाली व्यक्तिको २० जना भित्र चुनिएका छन् ।
अमेरिकाबाट प्रकाशित हुने “द इन्साइट सक्सेस“ को शिक्षा विशेषांक “दएजुकेसन भ्यु“ ले विश्वभरिबाट “द मस्ट इन्फ्ल्युन्सियल थट लिडर २०२२ “ शीर्षकमा उनलाई उत्कृष्ट २० जनाभित्र समेटेको हो ।
विराटनगर महानगरपालिका स्थायी निवासी घिमिरे विगत २० वर्षदेखि नै शिक्षा क्षेत्रमा आवद्ध छन् । हाल नेपालका सार्वजनिक विद्यालयको खस्कँदो अवस्थालाई सुधार्ने प्रयत्न स्वरुप उनले “वृहत राष्ट्रिय शिक्षा अभियान“ संचालन गर्दै आएका छन् ।यसका साथै उनले विश्वभरिका शिक्षा क्षेत्रका अगुवाहरुको संगठन “इन्टरनेसनल एसोसियसन अफ एजुकेसनल लिडर्स“ नामको संस्था स्थापना गरेर अल्पविकसित राष्ट्रका बालबालिकाको शैक्षिक हक र अधिकारका विषयमा समेत अन्तर्राष्ट्रिय समुदायसँग अपील गर्दै आएका छन् ।
घिमिरेलाई गतवर्ष “द एक्सेलिजेण्ट“ नामक पत्रिकाले विश्वभरिका “उत्कृष्ट १०० शिक्षाकर्मी“ को सूचिमा समावेश गरेको थियो ।