जनप्रिय मावि हेडौंडा १६ की छात्रा कृतिका बराल अहिले जतिसुकै ठूलो भीड भएपनि माईक समातेर निर्धक्क लामो भाषण दिन सक्छिन् । मनमा लागेको कुरा निडर भएर व्यक्त गर्ने त छदै छ । कार्यक्रममा आसन ग्रहण गराउँदा कसलाई पहिला गराउने र कसलाई पछि गराउने हो उनलाई पत्तो पनि हुँदैनथ्यो । तर अहिले मिजासिला शब्द सहित कार्यक्रम सञ्चालन गर्न सक्ने सफल उद्घोषक पनि भएकी छिन ।
जनप्रियकै अंग्रेजी माध्यम कक्षा ९ मा अध्ययन गर्ने छात्र प्रख्यातमान लो पनि मञ्चमा गएर खुलेर भाषण गर्न सक्ने मात्र होईन सफल कार्यक्रम सञ्चालक पनि भईसकेका छन् । त्यस्ता थुप्रै कृतिका बराल र प्रख्यातमान लो हरु अहिले जनप्रिय माविमा बग्रेल्ति छन् । यिनिहरु त प्रतिनिधि पात्र मात्रै हुन् ।

जनप्रियकै कक्षा ८ मा पढ्ने करिस्ता दाहाल सिमलको भूँवाजस्तै फूरुङ्ग उडेर छम्छमी नृत्य गर्न सक्छिन् । बिभिन्न स्थानमा प्रतियोगिता हुँदा करिस्ता हुन् वा कक्षा ९ की पूजना न्यौपाने अपवाद बाहेक पुरस्कार नबोकी विद्यालय फर्कँदैनन् । अहिले त निकै रुची मानेर कक्षा ७ की सम्पदा तिमल्सिना र उनका थुप्रै साथीहरुले पनि नृत्य सिकिसकेका छन् । यता स्वर्णिमा दुलाल र खुशी तामाङ्गका कविता र गजलले फूर्सदको समय पाउनासाथ विद्यालयमा साथीहरुको ठूलो भीड जम्मा गर्ने गर्दछ । आफ्नै उच्चाई चाही खासै धेरै नभएपनि कक्षा ७ मा पढ्ने सानी रञ्जना तिमल्सिनाका शब्दका उच्चाई देखेर शिक्षक स्वयम् दङ्ग पर्ने गर्दछन् ।
योगामार्फत विद्यार्थीको शारीरिक तन्दुरुस्ती चुस्त राख्न शिक्षक युक्तलाल विश्वकर्माको विद्यालयमा ठूलै मेहनत खर्च भएको छ । खेलकुद प्रशिक्षक शिबहरि राईले कविना राई र जिकेश सापकोटा जस्ता प्रदेशस्तरिय खेलाडीहरु मात्र तयार पारेका छैनन् अरु थुप्रै खेलाडीहरुको माहोल पनि जम्मा पारिसकेका छन् । चित्रकला र हस्तकलामा अब्बलता हासिल गर्न तम्सिनेको पनि भिड बाक्लै देखिन्छ ।

कसरी यी सबै विधाहरुमा जनप्रिय माविले बालबालिकाको क्षमता अभिबृद्धि गर्न सफल भयो त भन्ने प्रश्नमा विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाई भन्छन – हामीले शिक्षणको अलावा सहकृयाकलापलाई संगै लैजान व्यवस्थित योजना बनाएका छौं । कृयाकलाप त प्राय सबै विद्यालयले गर्छ नै तर हाम्रोमा फरक छ । चौलगाईले थपे – हामीसंग सहकृयाकलापका १२ वटा अलग अलग विभागहरु छन् । खेलकुद विभाग, साहित्य तथा बौद्धिक विभाग, मिडिया विभाग, वागवानी विभाग, सास्कृतिक विभाग आदि । यी सबै विभागहरुको टपमा जनप्रिय अतिरिक्त कृयाकलाप तथा सांस्कृतिक विभाग छ । त्यो विभागले १२ वटै विभागलाई सञ्चालन गर्ने गर्दछ । प्रत्येक विभागमा संयोजक सहितको टोलि छ । हरेक विभागका संयोजकहरु स्वत: जनप्रिय अतिरिक्त कृयाकलाप तथा सांस्कृतिक विभागको बोर्ड मेम्वर हुने प्रावधान छ । र जनप्रिय अतिरिक्त कृयाकलाप तथा सांस्कृतिक विभागले आफ्नो कामको प्रतिवेदन वार्षिक रुपमा विद्यालय प्रशासनलाई बुझाउने गर्दछ । यसरी व्यवस्थित गरिएकोले नै यो सबै संभव भएको हो । यसमा सबै शिक्षक र सरोकारवालाको उत्तिकै साथ सहयोग छ ।
यो सबै सुनिरहँदा समय व्यवस्थापन कसरी भयो होला भन्ने जिज्ञासा पनि छदै थियो । किताबी ज्ञानमात्र शिक्षा होईन चौलागाईले भने- बालबालिकाको चौतर्फि विकासका लागि शुक्रबारका कार्यक्रमले मात्र संभव नहुँदो रहेछ । जस्तो अहिले धेरै स्थानमा वर्षे विदा चलिरहेको छ । तर हाम्रोमा भने त्यो अघि नै बालबालिकाले आफ्नो रुची अनुसारको तालिमका लागि फारम भरिसकेका थिए । यही वर्षे विदाको समयलाई सदुपयोग गर्न हामीले जनप्रिय बालक्लव समेतको संयोजनमा १ हप्ते क्रियशन क्याम्प नै सञ्चालन गर्यौ । जसमा उद्घोण तालिमका लागि प्रशिक्षक रुपक कालिराज, मुक्तक प्रशिक्षणका लागि विश्वनाथ सञ्जेल, कविता प्रशिक्षणका लागि दिपक गौतम, कथा प्रशिक्षणका लागि सुनिल गौतम, रविन श्रेष्ठ, नीर बहादुर खड्का, त्यसैगरी खेलकुदका लागि शिवहरि राई, योग प्रशिक्षणका लागि युक्तलाल विश्वकर्मा र घनश्याम ढकाल, नृत्य प्रशिक्षणका लागि अम्वर गुरुङ्ग वक्तृत्वका लागि छवी अनित्य लगायतका प्रशिक्षकहरुले कार्यक्रमलाई सहजीकरण गरे।

तालिम संयोजकका रुपमा रहेका संप्रस पौडेलको तर्क पनि यस्तै छ । वहा भन्नुहुन्छ बालबालिकाको चौतर्फी विकासका लागि शिक्षकको मात्र होईन अभिभावकको पनि उत्तिकै भूमिका रहन्छ । प्रधानाध्यपक चौलागाईले भन्नुभयो हाम्रा राम्रा र सकरात्मक अभ्यासहरु हाम्रो मात्र सम्पत्ति होईन तपाईहरु जस्तो पत्रकारले पनि यसलाई सपोर्ट गरिरहनु भएको छ । विव्यस सदस्य कृष्णप्रसाद पनेरू भन्नुहुन्छ- हामी र हाम्रो भावनाले मात्रै अगाडी बढ्न सकिने रहेछ । मपाईत्व छाड्नु नै विकासको गतितर्फ अगाडि जानु हो रहेछ । विव्यस सदस्य बाला चौलमगाई र रमेशप्रसाद ढकाल पनि विद्यालयको सफलतामा सबैको साथ रहेकोमा खुशी देखिन्छन् । आफ्नो नानीबाबूलाई पनि नियमित सहक्रियाकलापमा सहभागि गराउने बाला चौलागाईको प्रतिवद्धता पनि छ । हरियाली वातावरण र भौतिक रुपले समेत सम्पन्न जनप्रियमा प्राविधिक र साधारण धारका धेरै विषय पठनपाठन हुने गर्दछन् । बालीविज्ञान, भेटेरेनरी, ईलेक्ट्रिकल ईन्जिनियरिङ्ग, जस्ता ३ वर्षे तथा १८ महिने कोर्षहरु प्राविधिक धारका विषय हुन् भने कक्षा नर्सरीदेखि १२ सम्म अंग्रेजी तथा नेपाली दुबै माध्यममा शिक्षा, मानविकी, तथा व्यवस्थापन संकायमा साधारण धारको शिक्षा प्रदान गरिदै आएको प्रधानाध्यापक चौलागाई बताउनुहुन्छ ।
सफल हुनका लागि सफल अभ्यासको पनि खाँचो पर्ने रहेछ । जनप्रिय माविको यो सफल अभ्यास सबै विद्यालयले आत्मसात् गर्ने हो भने तपाई हामीले खोजेको सामुदायिक शिक्षाको गुणस्तर अब धेरै टाढा रहने छैन । शिक्षाको विकास नै देश विकासको पहिलो खुड्किला हो ।