म खैराती मास्टर !
हो म खैराती मास्टर
मलाई मेरो सरकारले दयाले नोकरी दिएको छ
मलाई हाकिमले आफ्नो गोजीको पैसाले पालेको छ ।
म खैराती मास्टर
मलाई आवासको सुविधा पालिकाले दिएको छ
मलाई गाडिको सुविधा संघीय सरकारले व्यवस्था गरेको छ
उपचारको लागि जुनसुकै अस्पतालले पैसै लिदैन
मैले बनाएको निजामति कर्मचारीले
मलाई बनाउने नियम बनाउछ,
मैले पढाएको प्रहरीले
मलाई बिना कारण लठ्ठी बर्साउछ,
मैले ज्ञान दिएको वकिलले मेरै विरुद्ध मुद्दा चलाउछ
तैपनि चुपचाप छु
किनकि म खैराती मास्टर ।
मलाई नियमन गर्न
मभन्दा तिन तह तल्लो कर्मचारी खटाइन्छ
मलाई व्यवस्थापन गर्न
आठ पास जनप्रतिनिधि प्रयाप्त छ
मेरो अनुगमनलाई राजनीतिक दल नै काफी छन् ।
मलाई घरवेटीले निजामति कर्मचारीभन्दा आधा कम भाडा लिन्छ
मलाई बैकले अरुलाई भन्दा
एक तिहाइ कममा ऋणको ब्याज लिन्छ
यातायातको साधनमा पचास प्रतिशत छुट छ
पसलले तिन महिना पछि तिर्ने गरी
आधा छुटमा सामान दिन्छ
स्वास्थ्य विमा सित्तैमा गरिदिएको छ
छोराछोरीको पढाइको जिम्मा सरकारले लिएको छ,
म खैराती मास्टर
सत्र थरी जात जातिमा विभक्त
म खैराती मास्टर
विद्यार्थीको भविष्यको ठेक्का लिएको
अभिभावकको आखाँको तारो बनेको
कथित शिक्षाविद्को असफल पात्र
परिवारको पेटको चारो जुटाउने ध्याउन्न भन्दा
माथि उठन नसकेको
गरेको कामको ज्याला पाउन
चार महिना ढुक्नु पर्ने
रात दिन कक्षा कोठामा भुक्नु पर्ने
सन्सारलाई उज्यालो दिँदा दिँदा
आफै अन्धकारमा जीवन विताउन
विवश विवश म खैराती मास्टर ।
लेखक : माधव पोख्रेल