आज २०८० असोज ३ गतेदेखि नेपालभरिका शिक्षकहरूद्वारा राज्यको हेपाहा र अन्यायी प्रवृत्तिविरुद्ध शिक्षकमुक्तिको लागि आन्दोलन घोषणा गरिएकाले असोज ४ गतेबाट पठनपाठन बन्द हुने कुराले दु:ख लागेको होला ।
थाहा छैन यो आन्दोलन कतिदिनसम्म चल्छ। तर आशा गरौँ छिट्टै सकिएला। अभिभावकको चाहना र विद्यार्थीको भावना हामीले राम्ररी बुझेका छौँ तर पनि यो हाम्रो रहर होइन बाध्यता हो ।
सधैँ हामीले अन्यायको थिचोमा निन्याउरो अनुहारमा जबर्जस्ती हाँसो लिएर कक्षाकोठामा रहन पनि त सकस नै छ नि ।
आफ्नो हक र अधिकारका लागि बोल्नुपर्छ, नरम तरिकाले अधिकार पाइएन भने खोसेर लिनुपर्छ भन्ने जस्ता ऊर्जाशील कुराहरू सिकाउँदै योग्य कुशल प्रतिभावान् विद्यार्थी बनाउन शिक्षकहरू लागि परेको कुरा सबैमा अवगत नै छ । तर विडम्बना, अहिले शिक्षक आफै न्याय खोज्दै सडकमा उत्रिनु पर्ने अवस्था आएको छ ।
विद्यार्थीको भावना बुझ्ने र शैक्षिक सुधार र व्यक्तित्व विकासका लागि कक्षाकोठाबाटै फोन सम्पर्क गर्ने र प्रत्यक्ष भेटेर नै अभिभावकसँग आत्मीयता साट्ने काम हामीबाट भइरहेकै छ र भइरहने नै छ ।
हामीबिचको त्रिपक्षीय सम्बन्धभित्र शिक्षाको एउटा गुणस्तर लुकेको छ भने एकअर्काको मर्म र भावनालाई राम्रोसँग बुझ्ने वातावरणको सुनिश्चितता पनि छ । त्यसैले त हामी जीवनभर कलिला बाबुनानीको उज्ज्वल भविष्यका लागि दिलोज्यान दिएर लागेका छौँ ।
अब यहाँहरूबाट पनि एउटा सहयोगको अपेक्षा गर्दै छौँ कि हाम्रो माग पूरा नभएसम्मका लागि केही व्यक्ति विद्यार्थीको अधिकार खोसियो, अभिभावकको चाहनाविपरित भयो आदि भनेर बर्बराउन सक्छन् ।
त्यस्ताहरूलाई विद्यार्थी भाइबहिनीले हाम्रा शिक्षकहरूको माग पूरा नभएसम्म हामी विद्यालय जाँदैनौँ भन्ने तथा अभिभावकज्यूले पनि आआफ्ना बाबुनानीलाई विद्यालय पठाउँदैनाैँ भन्ने घोषणा गर्नु हुन्छ भन्ने आशा लिएका छौँ ।
हामी मुस्कानका साथ छिट्टै फर्किनेछौँ र भाइबहिनीका पढाइमा आएको हालको घाटाको पछि क्षतिपूर्ति भर्नेछौँ।
सहयोगका लागि धन्यवाद ।
शिक्षक एकता जिन्दावाद ॥