जय छठी माता!!
हिन्दू सनातन संस्कृतिको महान पर्व छठ मनाउनेहरू कम्तीमा एक महिनासम्म साकाहारी भएर बस्नुपर्छ । प्रकृतिको काखमा गरिने सुन्दर पूजा छठ हो।
ब्रतको पहिलो दिनलाई “ नहा खा “ ( नुहाएर खाने ) भनिन्छ । यो दिन ब्रतालुहरू जलाशयमा गएर नुहाउँछन् र त्यसपछि लसुन प्याज नभएको खाना खान्छन् ।
ब्रतको दोस्रो दिनलाई खरना भनिन्छ । यो दिन ब्रतालुहरू दिनभरी निराहार बसेर बेलुका मातालाई आरती गरेर खीर पूरी को भोग लगाई आफ्ना छिमेकी तथा इष्टमित्रलाई खीर पूरी खुवाउँछन् र आफू पनि ग्रहण गर्छन् । यसपछि ब्रत नसकुन्जेल सम्म केहि पनि खाँदैनन् ।
ब्रतको तेस्रो दिनलाई " साझिया घाट " भनिन्छ । यो दिन बिहान ३ बजे नै ब्रतालुहरू उठेर नुहाउछन् र चुलो बालेर ठेकुवा, कसार, टोपिया मिठाइ, पेरुकिया आदि पकाउँछन् । यी सबै पकवान बनाएर दउरामा ( बाँसले बनेको एकप्रकारको टोकरीमा ) सजाउँछन् । बच्चादेखि बुढासम्म सबैले नयाँ नयाँ लुगा लगाएर जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अरघ ( पकाएका पकवानहरू आर्पन गर्नु ) दिन्छन् । भजन किर्तन गर्दै रात त्यहि बिताउँछन् ।
ब्रतको अन्तिम दिनलाई “ भिनहिया ( बिहानी ) घाट ” भनिन्छ । यो दिन उदाउँदो सूर्यलाई अरघ दिएपछि सबै जना घर फर्किन्छन् र माइब्रह्म पुजेपछि घर छिमेकमा प्रसाद वितरण गर्छन् अनि खान्छन् । आफ्ना चेलीबेटी र आफन्त कहाँ सो प्रसाद पठाउने चलन पनि छ ।
एकदमै कठिन ब्रत छठ भएता पनि छठी माताको कृपाले होला रमाइलो रमझम, र पूजाको तयारी गर्दा गर्दै, आफन्त, छिमेकी सँगको प्रेम सहयोग/ सदभाव, र प्रकृतिको काखमा पूजाको खुशीले यो पर्व सजिलै सम्पन्न हुने गर्दछ ।
छठी माताले सबैको कल्याण गरुन्।
#जय छठी माता।