अस्ट्रेलियन अनुसन्धानकर्ता मार्क मकक्रिन्डलले सन् २०१० देखि २०२४ सम्म जन्मेका बच्चाहरूको पुस्तालाई ‘जेनेरेसन अल्फा’ले नामकरण गरेका छन् । ग्रीक अक्षर अल्फा (α) नयाँ सुरुवात भन्ने अर्थमा प्रयोग गरिएको हो । यसपछि क्रमशः गामा, डेल्टा जेनेरेसन आउनेछन् । सन् २०१० मा जन्मेको बच्चा यतिखेर १३ वर्षको भएको छ । विद्यालय तहमा पढ्दै छ । सन् २०१० यस्तो वर्ष थियो जुन बेला ‘आई प्याड’ र ‘इन्स्टाग्राम’ को सुरुवात भयो । २०१० पछि जन्मेको पुस्ता एक्काइसौँ शताब्दीमा यस्तो पुस्ता हो, जसले जन्मनासाथ स्मार्टफोन, कम्प्युटर, ट्याब्लेटको स्क्रिनको संसारमा मस्त छ । फेसबुक, इन्स्टाग्राम र टिकटकजस्ता सामाजिक सञ्जालसँग हुर्केको छ । भिडियो गेम्स, युट्युब भिडियो र एआईसँग रमाएको छ । राम्रा, नराम्रा, झुटा सबै सूचनाको बाढीको बीचबाट हुर्कंदै छ ।
घरघरमा स्मार्टफोनको सुविधाले नेपालका शहरमा मात्रै होइन, गाउँगाउँका बच्चाहरू पनि सूचना प्रविधिबाट धेरथोर प्रभावित छन् । यो ‘स्क्रिनएजर्स’ पुस्ता पहिलेभन्दा नितान्त फरक वातावरणमा हुर्कंदै छ । विश्वमा एआई, सूचना प्रविधिको विकास र तीव्र परिवर्तनको समयमा आजको पुस्ता छ । यस समयमा हामीले शिक्षण संस्थामा प्रदान गरिरहेको शिक्षा बदलिँदो प्रविधिसँगै हुन सक्यो भने शिक्षा सान्दर्भिक, प्रतिस्पर्धी र रुचिकर हुन्छ । अन्यथा शिक्षा विद्यार्थीका लागि बोझिलो र ‘टाइम पास’को माध्यममा सीमित हुन पुग्छ ।
उहिल्यै शिक्षाविद् जोन डिवेले भन्थे, ‘हामीले आज पनि हिजोको जस्तै तरिकाले पढाउँछौँ भने हामीले विद्यार्थीको भविष्य चोरिरहेका हुन्छौँ ।’ नेपालको शिक्षा प्रणाली आज पनि २०२८ सालकै शिक्षा ऐनमा टेकेर सञ्चालित छ । पाठ्यक्रम र पाठ्यपस्तकमा केही पाठ थपथाप गर्नेबाहेक समयको मागअनुसार विषयवस्तु बदलिएको छैन । कक्षाकोठाभित्र उही भाषण विधि कायम छ । विद्यार्थीलाई तथ्य रटाउने त्यसको परीक्षा लिने चक्रको वरिपरि शिक्षा घुमिरहेको छ ।
हालसालै संसदमा विचाराधीन शिक्षा विधेयकमा शिक्षा बदल्ने, नयाँ पुस्ताको माग र आवश्यकताअनुसार शिक्षा सञ्चालन गर्ने, देशको आर्थिक वृद्धिमा नयाँ आयाम थप्ने जनशक्ति निर्माण गर्न बाटो देखाउन सकेन ।
अल्फा पुस्ताका विद्यार्थीले सिक्ने स्वभाव पनि फरक भएको छ । उनीहरू शैक्षिक विषयहरू दृश्य वा अन्तर्क्रियात्मक ढंगले, भिडियोको माध्यम वा जीवनसँग जोडिने गरी प्रस्तुत भएकोमा रुचि राख्छन् । किनकि उनीहरू युट्युब, टिकटक र इन्स्टाग्रामँगै हुर्केका छन् । उनीहरू यस्तो युगमा हुर्कंदै छन्, जहाँ मानिस सफल हुन एकअर्कोसँगको सहकार्य आवश्यक पर्छ । एक मानिस अर्कोसँग ‘टिम वर्क’मा काम गर्नुपर्ने अवस्था छ । सामाजिक सञ्जालले पनि यिनै कुरा सिकाएका छन् ।
त्यसैले अहिलेको पुस्ता कक्षाकोठामा शिक्षकको एकोहोरो भाषणबाट झर्को मान्दै छ । विद्यार्थीले कक्षाकोठा अन्तर्क्रियात्मक होस्, विषयवस्तुको सजीव चित्रण होस्, समूहमा काम गर्न सिकियोस् भन्ने चाहेको छ । पढेका कुरा परीक्षा दिन होइन, जीवनभर काम लाग्ने होस् भन्ने खोजेको छ ।
तर, हाम्रो विद्यमान शिक्षा आजका विद्यार्थीको स्वभाव, रुचि र आवश्यकताबाट अलग छ । रटानमुखी शिक्षाले विद्यार्थीको प्रतिभा, क्षमता र सिर्जनात्मकतामाथि उपहास गरेको छ । यसैले नेपाली विद्यार्थी विश्वसामु प्रतिर्स्धी बन्न सक्ने अवस्थामा छैनन् । स्वदेशमै सम्भावनाका उपायहरू देख्न सकेका छैनन् । विद्यालय तहदेखि नै कक्षा १२ सकेपछि देश छोड्ने सपना देखेर विद्यालय धाउँदै छन् ।
विद्यालय तहको शिक्षाको जग कमजोर भएकाले विदेशमै गएकाले पनि त्यहाँको उत्कृष्ट शिक्षा हासिल गरेर आएको जनशक्तिसँग प्रतिस्पर्धा गर्नु परको कुरा भैहाल्यो । औँलामा गन्न सकिने विद्यार्थी मात्रै आफ्नै असाधारण क्षमताका कारण विदेशको उत्कृष्ट स्थानमा पुग्न सफल भएका छन् भने अधिकांश विद्यार्थी आफ्नो शैक्षिक योग्यताअनुसारको काम पाउन असमर्थ छन् ।
एक्काइसौँ शताब्दीका विद्यार्थीको भविष्य चारवटा ‘सी’ को विकासमा भर पर्छ– क्रिटिकल थिङ्किङ, कम्युनिकेसन स्किल, कोल्याबरेसन र क्रिएटिभ माइन्ड ।
विद्यालयको शिक्षणमा व्यापक सुधार गरी शिक्षालाई अनुसन्धानमूलक, प्रोजेक्ट बेस्ड, अन्तर्क्रियात्मक, समस्या समाधान, प्रयोगशाला विधि, भिजुअलाइज्ड र प्रविधिको प्रयोगसँग अब पनि जोड्न सकिएन भने अबको पुस्ता पनि शिक्षाबाट ठगिने निश्चित छ ।
विद्यालयले विद्यार्थीको भविष्यका यी चारवटा खम्बाहरू बलियो बनाउने गरी शिक्षा दिनुपर्छ । सँगसँगै कक्षा १२ पढेर निस्कँदै गर्दा हरेक विद्यार्थी आधारभूत रूपमा कुनै एक सीप सिकेर निस्कन सक्नुपर्छ । आजका विद्यार्थीले यही सार्थक शिक्षा खोज्दै छन् । यसले विद्यार्थीलाई बेरोजगार हुन दिँदैन र देश आत्मनिर्भर हुने बाटो पनि खोल्छ ।
कक्षाकोठामा गएर ४०/४५ मिनेट एकोहोरो विषयवस्तु खन्याइदिने शिक्षण प्रणाली नबदलेसम्म शिक्षाबाट विद्यार्थीले न्याय पाउँदैनन् । विद्यार्थी त्यस्ता रित्ता भाँडा होइनन्, जसमा विषयवस्तु खन्याइदिएपछि ऊ सक्षम भएर निस्कन्छ । पुरानो शिक्षामा शिक्षकले कक्षाकोठामा उत्तर खन्याइदिन्थे । अबको शिक्षामा शिक्षकले कक्षामा प्रश्नहरू उमार्न सक्नुपर्छ ।
हरेक नयाँ आविष्कार र सिर्जना प्रश्नको उत्तर खोज्ने प्रक्रियामा हुने गर्छ । न्युटनले स्याउ तल किन खस्छ भन्ने प्रश्नको उत्तरको पछि नलागेको भए गुरुत्वाकर्षण पत्ता लाग्ने थिएन । राइट दाजुभाइले मानिस आकाशमा किन उड्न सक्दैन भन्ने प्रश्नको उत्तर खोजी नगरेको भए जहाज आविष्कार हुने थिएन । अलेक्जेन्डर ग्राम बेलले परको मानिससँग कुराकानी गर्न कसरी सकिएला भने प्रश्नको उत्तरबारे नसोचेको भए टेलिफोन आविष्कार हुन्थेन । मार्क जुकरबर्गले धेरै साथीहरूसँग एकैपटक कसरी जोडिन सकिएला भन्ने जिज्ञासाको पछि नदौडिएको भए आज फेसबुकको नामै सुन्न पाइने थिएन ।
यसैले शिक्षाले प्रश्न सिर्जना गर्न र त्यसको समाधानमा घोत्लिन प्रेरित गर्ने हो । शिक्षा भनेको सूचनाको हस्तान्तरण मात्रै होइन । झन् आजको युगमा त इन्टरनेटमा जे खोज्यो क्षणभरमै शिक्षकले भन्दा गतिलोसँग सूचना पाउन सकिन्छ । कुनै विद्यार्थीले ‘डीएनए’का बारेमा बुझ्न चाहेमा कक्षामा शिक्षकले भाषण गरेर पढाएको भन्दा युट्युबको ‘एनिमेटेड’ भिडियोबाट दशौँ गुणा बढी स्पष्ट रूपमा बुझ्न सक्छ ।
आजका विद्यार्थीलाई आइन्स्टाइन र लक्ष्मीप्रसाद देवकोटाको जन्ममिति घोकाउनुको कुनै अर्थ छैन । विज्ञानमा ताप र चापका परिभाषा रटाउनुले अर्थ राख्दैन । किनकि यस्ता तथ्यांक र परिभाषाको रटानले मस्तिष्क सिर्जनशील बनाउँदैन । यदि यी कुरा आवश्यक पर्यो भने इन्टरनेटको दुनियाँमा सजिलै पाइन्छ । गणितमा पनि शिक्षकले सेतो बोर्डमा गरिदिएको हिसाब कण्ठ गर्नुले अर्थ राख्दैन । भाषा, विज्ञान, गणितलगायत सबै विषयको पढाइले आलोचनात्मक चेत, नयाँ समस्यासँग घोत्लिँदै त्यसको समाधान गर्ने क्षमता र अनुसन्धान गर्न अभ्यस्त बनाउन सक्नुपर्छ ।
आजका विद्यार्थीलाई सिकाउन स्कुल, कलेज, विश्वविद्यालय जहाँसुकै होस्, योग्य र अपडेटेड शिक्षकको आवश्यकता पर्छ । अबका विद्यार्थीलाई सिकाउन झन् चनौतीपूर्ण छ । प्रविधि प्रयोग गर्ने सवालमा शिक्षकभन्दा विद्यार्थी धेरै अगाडि पुग्न थालेका छन् । सरकारले शिक्षकलाई ‘अपडेटेड’ बनाउन पेसागत क्षमता विकासका कार्यक्रम गर्न सकेको छैन । शिक्षा मन्त्रालय, शिक्षा शास्त्र संकाय, शिक्षक सेवा आयोगलगायतसँग अब्बल व्यक्तिलाई शिक्षणमा आकर्षित गर्ने योजना छैन । गाउँगाउँमा विषयगत शिक्षकको विज्ञापनमा दरखास्त पर्न छाडेको छ । शिक्षक शिक्षा प्रदान गर्ने कुरामा केन्द्रमा रहेकाले उसको पेसागत सशक्तीकरणमा जोड दिइनुपर्छ । शिक्षकलाई शिक्षणमा नयाँनयाँ आइडियाहरूको प्रयोग गर्न सक्षम बनाइनुपर्छ । विद्यार्थीको भविष्य शिक्षकको क्षमतामा छ भने देशको भविष्य विद्यार्थीको सिर्जनात्मकतामा ।
अतः शिक्षणलाई कस्तो स्वरुप दिने भन्ने कुरा सरकारको शिक्षा नीति, शिक्षकको क्षमता, कला र सिर्जनात्मकतामा भर पर्छ । विद्यालयमा शिक्षणका आधुनिक तरिका अवलम्बन गर्न विद्यालय स्रोत साधनले सम्पन्न हुनुपर्छ । विद्यालयको शिक्षणमा व्यापक सुधार गरी शिक्षालाई अनुसन्धानमूलक, प्रोजेक्ट बेस्ड, अन्तर्क्रियात्मक, समस्या समाधान, प्रयोगशाला विधि, भिजुअलाइज्ड र प्रविधिको प्रयोगसँग अब पनि जोड्न सकिएन भने अबको पुस्ता पनि शिक्षाबाट ठगिने निश्चित छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८० ०७:०५