वराहक्षेत्र : सुनसरी जिल्लाको कान्छो नगरपालिकाको रूपमा रहेको वराहक्षेत्र नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) का आधारमा जिल्लामा रहेका उपमहानगरपालिकाहरू, नगरपालिकाहरू र गाउँपालिकाहरू भन्दा उत्कृष्ट अङ्क प्राप्त गरेको छ । वराहक्षेत्रले सय पूर्णाङ्कमा ९१ अङ्क प्राप्त गरेको हो ।
सङ्घीय सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा स्थानीय तहलाई विनियोजन गर्ने शसर्त र नि:शर्त अनुदान बाँडफाँड गर्न हरेक वर्ष गरिने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा वराहक्षेत्र नगरपालिकाले १०० पूर्णाङ्कमा ९१ अङ्क प्राप्त गरेको छ ।
संस्थागत क्षमता स्वमूल्याङ्कनमा काठमाडौँ महानगरपालिकाले ७८।५० अङ्क प्राप्त गरेको छ भने छिमेकी धरान उपमहानगरपालिकाले ७१।५, रामधुनी नगरपालिकाले ७३, इटहरीले ८१।२५ अङ्क प्राप्त गरेको छ । गतवर्ष पनि उत्कृष्ट र प्रभावकारी कार्य सम्पादन गरेको वराहक्षेत्र नगरपालिकाले यसवर्ष पनि उत्कृष्ट अङ्क हासिल गरेको हो ।
मूल्याङ्कनका विभिन्न १० वटा विषय क्षेत्रमा वराहक्षेत्र नगरले आफ्नो कार्यसम्पादनमा सुधार गर्दै अङ्क बढाएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत देबेन्द्रबहादुर मल्लले बताए ।
जसमा सय पूर्णाङ्कमा शासकीय प्रबन्धमा १०० अर्थात् शतप्रतिशत, सङ्गठन तथा प्रशासनमा १०० अङ्क, वार्षिक बजेट तथा योजनामा व्यवस्थापनमा ८६।३६ अङ्क, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा १०० अङ्क, सेवा प्रवाहमा ९३।७५ अङ्क, सहकार्य र समन्वयमा ३३।३३ अङ्क, न्यायिक कार्य सम्पादन १०० अङ्क, भौतिक पूर्वाधार ९२।३१ अङ्क त्यस्तै सामाजिक समावेशीकरणमा १०० अङ्क, वातावरण संरक्षण तथा बिपद व्यवस्थापनमा ८३।३३ प्रतिशत गरी समग्रमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) का सय पूर्णाङ्कमा ९१ अङ्क प्राप्त गरेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र बहादुर मल्लले जानकारी दिए ।
नगरपालिकाको संक्षिप्त परिचय
सुनसरी जिल्लाको उत्तर पश्चिममा पर्ने वराहक्षेत्र नगरपालिका नेपालको स्थानीय तह पुनंसरचना आयोगको सिफारिस बमोजिम २०७३ सालमा स्थापना भएको हो ।यस नगरपालिकाको नाम पूर्वको प्रसिद्ध तिर्थस्थल प्राचिन कौशिकी नदीको तटमा अवस्थित वराहक्षेत्र देवस्थलको नामबाट नामाङ्करण गरिएको छ । मिति २०७४ फाल्गुण २४ गते नेपाल सरकारले प्रथम नगर सभाको निर्णय र सिफारिसको आधारमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यस नगरपालिकाको नाम संसोधन गरी वराहक्षेत्र नगरपालिका नामाङ्करण गरिएको छयो नगरपालिकाको सिमाना पूर्वमा रामधुनी नगरपालिका, उत्तरमा धरान उप- नगरपालिका र धनकुटाको साँगुरीगढी गाउँ पालिका, दक्षिणमा भोक्राहा नरसिँह गा.पा. र कोशी गा.पा. पश्चिममा उदयपुरको बेलका नगरपालिका रहेको छ ।२२२.०९ बर्ग किमी क्षेत्रफलमा रहेको यो नगरपालिकामा २०७८ को जनगणनाको प्रारम्भिक अनुसार ९२ हजार जनसंख्या रहेको छ ।