गएको वर्ष धनगढीका १८ विद्यालयमा पढ्ने कक्षा ८ का सबै विद्यार्थी फेल भए। सिंगो उपमहानगर नै यो घटनाले चकित पर्यो।
स्कुलस्कुलमा यो घटनाबारे बहस भयो। कसैले विद्यालयको दोष देखाए कतिले स्कुलको। कतिले त मेयर गोपाल हमालको समेत आलोचना गरे। विद्यार्थीले समेत पास बनाइदिनुपर्छ भन्दै नाराबाजी गरे। शिक्षकहरू त मेयरको कार्यालय घेर्न समेत गए। नगर घेराउ गर्ने शिक्षकहरूको माग थियो– नम्बर थपेर भएपनि विद्यार्थीलाई पास गराउनुपर्छ। त्यो बेला मेयर हमालले शिक्षकहरूलाई सम्झाए।
‘मैले कपि जाँचेको पनि होइन। प्रश्नपत्र बनाएको पनि होइन। मैले नम्बर थपेर पास गर्न हुन्न भनेको मात्र हो,’ हमालले भनेका थिए, ‘यो रिजल्टले हाम्रा स्कुलमा कस्तो पढाइ हुन्छ भन्ने देखिन्छ। यसलाई ढाकछोप गर्ने होइन। सुधारेर अघि बढ्नुपर्छ।’
शिक्षक र मेयरका बीचमा त्यति बेला पटक पटक बैठक बस्यो। ती बैठकमा शून्य नतिजा आउनुको कारणबारे नगरपालिकाले शिक्षकलाई सोध्यो।
कति शिक्षकले भने– गरिब र दलितका बच्चा छन् घरमा अभिभावकले ध्यान दिन्नन्।
कतिले भने– हाम्रो स्कुलमा शिक्षक अभाव छ।
कतिले भने– भवनको कोठा डेस्क र बेन्च छैनन्।
कतिले भने– सरकारी नीति भएन।
सबैका कुरा सुनेपछि मेयर हमालले भने– ल ठिक छ। यी सबै समस्या हटाउन उपमहानगरपालिकाले सहयोग गर्छ। अनि शिक्षकहरूतिर फर्केर सोधे– मैले आफ्नो वाचा पुरा गरेँ भने तपाईंहरू के गर्नुहुन्छ?
मेयरले प्रतिबद्धता मागेपछि शिक्षकहरूले भने– हाम्रो तर्फबाट पनि सकेजति सुधार गर्छौँ। मेयर हमाल र शिक्षकहरूको बैठकमा एकअर्काले प्रतिवद्धता जनाएपछि सुरू भएको थियो धनगढीका विद्यालयमा शैक्षिक सुधारको काम।
धनगढी उपमहानगरले पनि गएको वर्षदेखि तत्काल केही काम सुरू गर्यो र आउने वर्षका लागि योजना बनायो।
नयाँ शैक्षिक सत्र लागु भएसँगै फेल भएका विद्यार्थीले स्कुल छोड्ने हुन् कि भन्ने डर थियो, त्यसो भएन। अधिकांश कक्षा दोहोर्याएर कक्षा ८ मै भर्ना भए।
शिक्षा क्षेत्र सुधारको चर्चा चलेकै थियो। मेयर हमालले दिल्लीमा केजरीवालले लागू गरेका एजेन्डालाई उदाहरणका रूपमा लिएर निर्वाचित भएपछि ‘धनगढी मोडल’ अवधारणा विकास गर्ने भनेका थिए।
शैक्षिक सत्र २०८०/०८१ सुरू हुन लाग्दा उपमहानगरले एक टोली बनाएर भारतको राजधानी नयाँ दिल्लीका सरकारी स्कुलमा के कस्ता अभ्यास भएका छन् भनेर हेर्न पनि पठाएको थियो। त्यो टोलीले त्यहाँ सिकेका कुरा धनगढीमा कसरी लागू गर्न सकिन्छ भन्नेबारे प्रतिवेदन दिएको थियो। अहिले गरिएका र भइरहेका कतिपय कामहरू दिल्ली शैक्षिक भ्रमणपछि नै गर्ने आइडिया आएको मेयर हमालका निजी सचिवालयका प्रमुख कृपाराम उपाध्यायले बताए।
दिल्लीबाटै सिकेर आएका कतिपय काम भने आगामी शैक्षिक सत्रदेखि लागु गर्ने उपमहानगरको योजना छ।
के के काम सुरु भए ?
यस वर्ष धनगढी उपमहागरले शैक्षिक क्षेत्रमा बजेट बढाएको छ। उपमहानगरले संघीय सरकारबाट शिक्षामा आउने बजेटबाहेक आन्तरिक स्रोतबाट चार करोड रुपैयाँ खर्च गर्ने भएको छ।
असारमा उपमहानगरपालिकाले ल्याएको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक सुधार गर्ने भन्दै वर्ष २०८० लाई ‘शैक्षिक सुधारको वर्ष’ घोषणा गरेको थियो।
सुधार गर्ने काममा नतिजा शून्य ल्याउने विद्यालयलाई प्राथमिकता राखियो। उपमहानगरपालिकाले सुधार गर्नुपर्ने समस्याको पहिचान गर्नुपर्ने भयो। शून्य नतिजा ल्याउने र अरु पनि विद्यालयमा गएर व्यवस्थापन समिति, शिक्षक, प्रधानाध्यापक, अभिभावक र विद्यार्थीसँग उपमहानगरको टिमले कुरा गर्यो।
साउनमा ९ विद्यालय समायोजन भए। प्रमुख प्रशासकीय अधिकृत खातीका अनुसार त्यसपछि न्युनतम मापदण्ड नपुगेका, भविष्यमा पनि पुर्याउन नसकिने अवस्थाका, अन्य विद्यालयको भौगोलिक दुरी नजिकै रहेको, नतिजा पनि राम्रो नभएको, थोरै विद्यार्थी भएका विद्यालयलाई समायोजन गरियो।
धनगढी उपमहानगरपालिका वडा नम्बर २ को शैलेश्वरी माविलाई शारदा माविमा, वडा नम्बर ७ को नवज्योति माविलाई शिव माविमा, वडा नम्बर ११ को जोकैया प्राविलाई वेला माविमा र वडा नम्बर १८ को नेपाल भूपूसैनिक माविलाई खप्तडी माविमा समायोजन गरियो।
त्यसैगरी वडा नम्बर १२ को बेहडाबाबा माविका १ देखि ५ सम्मका कक्षा सिद्धनाथ माविमा र वडा नम्बर १७ को कालिका माविका ४ र ५ कक्षा न्यु कालिका माविमा समायोजन भए।
धनगढी उपमहानरपालिका–५ को राष्ट्रिय मावि, ६ को भैरवबाबा मावि, ९ को सरस्वती मावि, १२ को नवदुर्गा मावि, १४ को सिद्धार्थ मावि र वडा नम्बर १५ को जनजागृति माविका ६ देखि ८ सम्मका कक्षाहरू नजिकका विद्यालयमा समायोजन भए।
राष्ट्रियको पञ्चोदय माविमा, भैरवबाबाको बासुदेवी माविमा, सरस्वतीको धनगढी नमुना माविमा, नवदुर्गाको दुर्गा आविमा, सिद्धार्थको सर्वोदय माविमा र जनजागृतिको राष्ट्रिय माविमा समायोजन भए।
त्यस्तै, वडा नम्बर १३ राजपुरको जनता राष्ट्रिय माविको कक्षा ९ र १० सोही वडाको कैलाली गाउँ स्थित जनता राष्ट्रिय माविमा र वडा नम्बर १४ को दीपेन्द्र चारपाते माविका कक्षा ९ र १० सोही वडाको बेहडाबाबा माविमा समायोजन भए।
यसरी समायोजन भएका विद्यालयबाट शिक्षक र विद्यार्थी नजिकैको अर्कोमा गए। विद्यालय समायोजन पछि शिक्षकहरू व्यवस्थापन गरियो। उनिहरूको दरबन्दी मिलानको काम सुरू भयो।
साउनमै विना लाइसेन्सवाला शिक्षक हटाइयो। उपमहानगरपालिकाले अध्यापन अनुमति पत्र नभएका व्यक्तिहरुलाई शिक्षकमा नियुक्त गरेको भएमा आवश्यक प्रक्रिया पुरा गरी अवकास गर्न भन्दै सूचना निकालेको थियो। शिक्षा सम्बद्ध ऐन कानून र प्रचलित नेपाल कानून विपरीत हुने गरी शिक्षक कर्मचारी भर्ना नगर्नु नगराउनु पनि भनेको थियो।
भदौमा मेयर हमालले ९ लाख ९२ हजार रूपैयाँको शैक्षिक सामाग्री शुन्य नतिजा ल्याएका विद्यालयलाई दिए। पोहोर साल छलफल हुँदा विद्यार्थीसँग शैक्षिक सामाग्री नहुँदा अभ्यास गर्न नपाएकोले पनि नतिजा राम्रो नआएको भन्ने गुनासो थियो। मेयर हमालले त्यसै बैठकमै आफूले पाउने सुविधामार्फत १० लाख शैक्षिक सामाग्री खरिद गरेर वितरण गर्ने प्रतिवद्धता जनाएका थिए।
वडा नम्बर १ को शान्तिनगर स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक पदमराज जोशीले शैक्षिक सामाग्रीले पढाई र सिकाईलाई सहज बनाएको बताए।
असोजमा उपमहानगरपालिकाको शिक्षा शाखाबाट सबै स्कुलको अनुगमन गर्यो। हरेक स्कुलका विद्यार्थी संख्या र शिक्षक संख्या पत्ता लगाई दरबन्दी मिलान गर्न त्यसो गरिएको थियो। किनकि नतिजा राम्रो नआउनुमा शिक्षक अभाव पनि एउटा कारण देखिएका थियो। प्रमुख प्रशासकीय अधिकृत खातीका अनुसार बेला बेला प्रधानाध्यापक र शिक्षकहरूलाई तालिम पनि दिइयो।
‘तालिम दिन हिजोका दिनमा कार्यक्रम पर्खिनुपर्ने, भत्ताको व्यवस्थापन गर्नुपर्ने हुन्थ्यो, यो वर्ष जुन स्कुललाई जे समस्या परेको छ, विना भत्ता, विना सेवासुविधा तत्काल शिक्षकहरूलाई बोलाएर भ्याएसम्म सिकाउने काम भयो,’ उनले भने।
उपमहानगरपालिकाले पुरानाबाटै दुई जना मेन्टर शिक्षकहरू पनि नियुक्त गरेको छ। मेन्टर शिक्षकले नवप्रवेशी शिक्षकलाई कक्षामै गएर प्राविधिक कुरा सिकाउँछन्। उपमहानगरपालिकामा ११ जना नवप्रवेशी शिक्षक छन्। उनीहरूलाई झण्डै २१ हप्तासम्म मेन्टर शिक्षकले सिकाउने काम गरिरहेका छन्।
दरबन्दी मिलान गरेर पनि अभावको समस्या नटरेपछि अहिले १३ जना शिक्षकका लागि विज्ञापन भइसकेको छ।
केही विद्यालयले दशैँ तिहारदेखि नै अतिरिक्त कक्षाहरू चलाएका थिए। पछि अरू विद्यालयले पनि चलाए। अहिले उपमहानगरपालिकाले अतिरिक्त कक्षा सञ्चालन गरिरहेका विद्यालयमा प्रत्येक विषयको तीन सय रुपैँया खाजा खर्च दिइरहेको छ। अतिरिक्त कक्षामा गणित, विज्ञान, अंग्रेजी, नेपाली, सामाजिक पाँच विषयको पढाई र सिकाई हुन्छ।
सिद्धनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमवहादुर शाहीले अतिरिक्त कक्षाका कारण विद्यार्थीको पढाई र सिकाईमा सहजता गरेको र यसले नतिजामा सुधार आउने बताए।
यी विद्यालयहरूमा कहिले के काम गर्ने भन्ने क्यालेण्डर बनाएर लागू गरिएको छ। जस अनुसार माघ महिनामा कोर्स सक्ने र त्यसपछिको एक महिना लेखन अभ्यास गराउने भनिएको थियो। त्यहि अनुसार कोर्स सकेर अहिले लेखन अभ्यास गर्ने काम जारी छ। गत वर्ष परीक्षा नतिजा हेर्दा विद्यार्थीमा लेख्ने अभ्यासको कमी देखिएको थियो। त्यसमै सुधार गर्न एक महिना लेखन अभ्यास गराउने काम भइरहेको हो।
उपमहानगरपालिकाले पनि आफ्नो अनुगमन बढाएको छ। अनुगमनका बेला उपमहानगरका पदाधिकारी तथा शिक्षा शाखाका कर्मचारीले कक्षामै गएर शिक्षक र विद्यार्थीका गतिविधि हेर्ने र उनीहरूसँग छलफल गर्ने गर्छन्। गत वर्षको जस्तो खराब नतिजा हुन नदिन उपमहानगर नै लागिपरेपछि विद्यालय पनि कस्सिएका छन्।
सरस्वती माध्यमिक विद्यालका प्रधानाध्यापक पदमराज जोशीका अनुसार राम्रो ल्याउन कोसिसमा शिक्षक र विद्यार्थी छन्। विद्यालयहरूले पनि अभिभावक भेला गराए। उनीहरूसँग छलफल गरे।
विद्यार्थीको पढाईप्रति गंम्भीर हुनु र सुधार गर्ने काम गर्न अभिभावकलाई भनिएको छ। उनले स्कुलमा पढाएर मात्र नहुने भएकाले अभिभावकले पनि घरमा ध्यान दिनुपर्ने बताए।
‘अहिले हामीले परीक्षाको लागि राम्रै तयारी गरिरहेका छौं, विद्यार्थीहरू पढिरहेका छन्, पहिलेको भन्दा सुधार भएको छ,’ उनले भने।
अर्को बर्षदेखि के हुने छ नयाँ?
उपमहानगरपालिकामा पाँचवटा नमूना विद्यालय बनाउने काम सुरु भएको छ। ग्रामिण क्षेत्र लक्षित गरेर उपमहानगरपालिकाले चन्द्रोदय माध्यमिक विद्यालय फूलबारी, बेहडाबाबा माध्यमिक विद्यालय घँसीटा, सिद्धनाथ माध्यमिक विद्यालय जुगेडा, ठेकेराज माध्यमिक विद्यालय घोडसुवा र भवानी माध्यमिक विद्यालय गौरीपुरलाई नमूना विद्यालयका लागि छनोट गरिसकेको छ।
नमूना स्कुलमा आउँदो वर्षदेखि अंग्रेजी माध्यामबाट पढाइ हुने छ। शिक्षक र शैक्षिक सामग्री अभाव हुने छैन। प्लेस्टेसन हुनेछ। प्ले स्टेसन बनाउनका लागि टेण्डरको आह्वान भइसकेको छ। नमूनाका लागि छनोट भएका पाँच वटै विद्यालयमा ब्ल्याक बोर्ड र ह्वाइट बोर्डको सट्टा स्मार्ट बोर्ड जडान हुँदैछन्।
‘दुई वटा विद्यालयमा जडानको काम भइसकेको छ। बाँकीमा जडान हुँदैछ,’ प्रमुख प्रशासकीय अधिकृत खातीले भने।
उनका अनुसार शिक्षा तथा मानवस्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रको वेइवसाइटमा रहेको सिकाई पोर्टलका आधारमा नमुना विद्यालयमा पठन पाठन हुनेछ। उक्त पोर्टलमा बालविकासदेखि कक्षा १२ सम्मका सम्पूर्ण विषयहरू अडियो, भिडियो र एनीमेसन छन्।
नमूना छनोट भएका विद्यालयको पढाइ सुधार्न उपमहानगरपालिकाले टिच फर नेपाल, आइडीआई, कारखाना समूह र काठमाण्डौ विश्वविद्यालयसँग सहकार्य पनि गर्ने भएको छ। यी सबै संस्थाले नमुना विद्यालयमा शिक्षण सिकाईसँग सम्बन्धित सहयोग, शिक्षकलाई तालिम दिने र विद्यार्थीलाई पनि सहयोग गर्नेछन्।
यस्तै शिक्षकको उपस्थिति कक्षा कोठामा कम हुने पाइएकाले विद्यालयमा ई–हाजिरी व्यवस्थापन हुने छ। नेपाल सरकारको सफ्टवयर प्रयोग गरेर उपमहानगरपालिकामा कन्ट्रोल रहने गरी हाजिरी गर्ने प्रविधि जडान गर्ने काम सुरु भएको छ।
‘अर्को वर्षदेखि कुन स्कुलमा कुन शिक्षकको उपस्थिती कति छ भन्ने पत्ता लाग्छ। उपस्थितिको आधारमा कार्यक्षमता मुल्यांकन तलब आदिमा फरक पर्नेछ,’ प्रमुख प्रशासकीय अधिकृत खातीले भने।
उपमहानगरपालिकाले नतिजाका आधारमा विद्यालयका प्रधानाध्यपक, शिक्षकहरूलाई पुरस्कृत र सम्मान गर्ने योजना बनाउदै छ। शिक्षकहरूलाई प्रेरित गरेर मनोवल बढाउने उदेश्यले यो काम गर्ने तयारी गरिएको खातीले बताए। पुरस्कृत र सम्मान मासिक, अर्धवार्षिक वा वार्षिकरूमा गर्ने भन्नेमा छलफल चलिरहेको छ।
विद्यालयमा नियमित अनुगमनको संन्यन्त्र बनाउने र त्यसले मासिक रिपोर्ट बनाएर उपमहानगरपालिकालाई बुझाउने सोही रिपोर्टको आधारमा शैक्षिक सुधारका काम गर्ने तय भएको छ।
यस्तै उत्कृष्ट, मध्यम, कमजोर र अतिकमजोर लगायतका विद्यार्थीहरूको समुह बनाउने र सोही अनुसार कुन विद्यार्थीलाई के सहयोग आवश्यकता त्यो उपलव्ध गराउने लक्ष्य लिइएको उपमहानगरले जनाएको छ।
‘पढाईमा उत्कृष्टलाई समान्य सल्लाह दिने, कमजोरलाई कोचिङ, अतिरिक्त कक्षामा बढी सक्रिय गरेर विद्यार्थीको सिकाई बढाउने योजना लागु गर्न प्रधानाध्यापकहरूसँग छलफल चलाइरहेका छौँ,’ खातीले भने।
यस बर्ष सुरू गरेका कामले पढाईमा सुधार भएको उपमहानगरको दाबी छ। केहीसमय अघि धनगढी–उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत खाती गतबर्ष शुन्य नतिजा आएका १७ विद्यालय पुगेका थिए। ती विद्यालयमा गएर उनी गत वर्ष फेल भएका विद्यार्थीहरूसँग कुरा गरे। कक्षा ८ मा पुगेर केही बेर कुरा गरेपछि उनले सबै विद्यार्थीलाई भने– ल यो वर्ष त म पक्का पास हुन्छु भन्नेले हात उठाउनुहोस्।
‘धेरै विद्यार्थीले हात उठाए,’ उनले भने, ‘पहिला भन्दा पढाई राम्रो छ हामीलाई धेरै कुरा आउँछ भनेर विद्यार्थीले भनेका छन्। शिक्षकहरू पनि यसपाली राम्रो हुनेमा आशावादी देखिन्छन्।’
धनगढी उपमहानगरले थालेको सुधारको नतिजा यसपाली देखिनेमा आफूपनि ढुक्क भएको उनले बताए।