नेपालको सार्वजनिक शिक्षा पटक–पटक विदेशी दातृराष्ट्रको नयाँ–नयाँ परीक्षणको प्रयोगशाला बन्दै आएको कुरा सर्वविदित छ । विकास साझेदारहरूका विभिन्न नीति तथा कार्यक्रम परीक्षण गर्ने स्थलको रूपमा शिक्षा क्षेत्रलाई लिइएको छ । जसले गर्दा नेपालको शिक्षा क्षेत्रले बीच–बीचमा केही संकट र द्विविधा भोग्नु परेको छ । नेपालमा शिक्षा ऐन २०२८ ले ३ प्रकारका विद्यालयको परिकल्पना गरेको छ– सामुदायिक, संस्थागत र गुठीद्वारा सञ्चालित । नेपालको सार्वजनिक शिक्षा र विशेष गरी सामुदायिक विद्यालयको शिक्षाको स्तर आज पनि जनअपेक्षा अनुरूप सुधार गर्न नसकिएको सरोकारवाला सबैको साझा मत छ । यस क्रममा फेरि अर्को परीक्षण नेपालमा शुरु भएको छ र यो शुरुवातसँगै प्रशासनिक झमेलामा फँस्ने वा स्थानीय तहको अधिकार उपभोग गर्ने नाममा बल्झने सम्भावना बढेर गएको छ । विद्यमान भौतिक अवस्था, शैक्षिक उपलब्धी, विद्यालय–समुदाय सम्बन्ध, विद्यार्थी सङ्ख्या, शिक्षक–विद्यार्थी अनुपात, विद्यालय हातामा रहेको विद्यालयको भोगाधिकारमा रहेको जग्गाको अवस्था आदिलाई आधार मानी देशभरका २२२ वटा विद्यालयलाई सन् २०८० सम्ममा नमूना विद्यालयका रूपमा विकास गर्ने उद्देश्यका साथ नमूना विद्यालयका लागि प्रस्तावित गरिएको थियो ।
नेपालमा नमूना विद्यालयको विकास र सञ्चालनको आवश्यकताको सम्बन्धमा विभिन्न समयमा बहस, छलफल तथा अभ्यासहरु हुँदै आएका छन् । आर्थिक बर्ष २०७३/०७४ देखि लागू गर्ने लक्ष्यका साथ तयार भएको विद्यालय क्षेत्र विकास योजनाको लागि सरोकारवालासँग छलफल गरी पृष्ठपोषण प्राप्त गरिएको थियो । २०७२ सालको भूकम्पबाट नेपालमा धेरै विद्यालयका भौतिक पूर्वाधार ध्वस्त भए । भूकम्प पछिको पुनःनिर्माणको सन्दर्भमा भूकम्प प्रतिरोधी, सुरक्षित एवम् बालमैत्री विद्यालय निर्माण गर्नुपर्ने आवश्यकता देखियो । पुनर्निर्माणको कार्यसँगै विद्यालयमा गुणस्तरीय शिक्षामा टेवा पुग्ने आशाका साथ नमूना विद्यालयको अवधारणा अघि आएको थियो । यसरी पूर्वाधारको हिसाबले, व्यवस्थापनको हिसाबले र शैक्षिक गुणस्तरको हिसाबले समेत नमूना बनाउने वा अरुभन्दा पृथक, उदाहरणीय, सिक्नलायक र सुरक्षित विद्यालको विकास गरी त्यस्ता विद्यालयलाई नमूना विद्यालयको संज्ञा दिने अभ्यास शुरु हुँदै गयो । समाजमा गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने विश्वसनीय आधार भएको जनताको पहिलो रोजाइको विद्यालयको रूपमा सामुदायिक विद्यालयको विकास गर्नु वाञ्छनीय भएकाले सम्भावना बोकेका सामुदायिक विद्यालयलाई निश्चित मापदण्डको आधारमा मूल्याङ्कन गरी नमूना विद्यालयको रूपमा विकास गर्दा सरोकारवालाहरूमा सकारात्मक सन्देश प्रवाह हुने कुरामा विश्वास गरिएको थियो ।
नमूना विद्यालय विकासको मूल उद्देश्यमा गुणस्तरीय शिक्षालाई मानिएको छ । विद्यालयको शासकीय प्रबन्धमा विशेष व्यवस्था गरी उच्च नतिजाका निमित्त प्रोत्साहन गर्ने, कमजोर सामाजिक आर्थिक तथा भौगोलिक विकटता झेल्नुपरेका र पढ्न इच्छुक बालबालिकालाई आवश्यकताका आधारमा छात्रवासको समेत प्रबन्ध गरी शिक्षाको अवसर उपलब्ध गराउने, आफ्ना छिमेकी विद्यालयहरूलाई विभिन्न पक्षमा सुधार गर्न प्रेरित एवम् सहजीकरण गरी समग्र सार्वजनिक विद्यालयमा सुधार ल्याउन अगुवाको भूमिका स्थापित गर्ने, विद्यार्थीको प्रतिभा पहिचानको अवसर प्रदान गरी उनीहरूको प्रतिभाको विकास र उपयोगको आधार निर्माण गर्ने, पूर्वाधारको हिसाबले, व्यवस्थापनको हिसाबले र शैक्षिक उपलब्धीका हिसाबले अब्बल तथा सक्षम विद्यालयको रूपमा विकास गर्ने, आफ्नै देशमा सक्षम वैज्ञानिक तथा प्राविधिक जनशक्ति उत्पादन गरी अन्तर्राष्ट्रिय जगतमा प्रतिष्पर्धा गर्न सक्ने नागरिक तयार गर्न विज्ञान विषयलाई अनिवार्य गर्दै लाने लगायतका उद्देश्य किटान गरिएका थिए ।
संघीय सरकारबाट नमूना विकासका लागि शुरुमा २२२ वटा विद्यालय छनोट भए पनि हाल छनोट भएका सात वटा प्रदेशमा जम्मा ४२२ विद्यालय पुगेका छन् । कोशी प्रदेशमा ८१, मधेश प्रदेशमा ६५, बागमती प्रदेशमा ६९, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ६८, कर्णाली प्रदेशमा ३९ र सुदुर पश्चिम प्रदेशमा ४४ गरी जम्मा ४२२ विद्यालय नमूना विद्यालयका लागि प्रस्तावित छन् । नक्साङ्कन र रूपाङ्कन तथा कार्ययोजनासहितको गुरुयोजनालाई स्थानीय सरकारले अनुमति दिएपछि नमूना विद्यालय निर्माणको काम अघि बढ्ने प्रावधान अनुरूप प्रक्रिया अघि बढिरहेको छ । नमूना विद्यालयको सम्पूर्ण निर्माण र अनुगमन गर्ने काम स्थानीय तहलाई दिइएका कारण स्थानीय सरकारमा दायित्व बढेर गएको छ । गुरुयोजनामा डिजाइनरले लागत अनुमान समेत पेस गरी स्थानीय तहबाट स्वीकृत भएपछि मात्रै नमुना विद्यालयको भौतिक पूर्वाधार निर्माण हुने तथा त्यसपछिका हरेक चरणमा स्थानीय तहकै महत्त्वपूर्ण भूमिका हुने भएकाले छनोटमा परेका विद्यालयका हकमा स्थानीय तहसँगको सहकार्य बढी जरुरी हुने निश्चित छ ।
नमूना विद्यालयको निर्माणका लागि प्रारम्भिक बालशिक्षाको पाठ्यक्रम र सिकाइका लागि सामग्री, कक्षागत र विषयगत पाठ्यक्रम सूचीमा प्रस्तुत गर्ने, विद्यार्थीलाई सेटमा पाठ्यपुस्तक, विषयगत शिक्षक निर्देशिका, पुस्तकालय, बुक कर्नर, खेलकुदका सामग्रीहरू, स्वास्थ्य, शारीरिक विषयका उपकरण, सामग्री, विपद् जोखिम न्यूनीकरणसँग सम्बन्धित सन्दर्भ सामग्री, शिक्षकले स्थानीय स्रोत प्रयोग गरी तयार पारेका शैक्षिक सामग्री, विज्ञान प्रयोगशाला सामग्री, विद्यालय सङ्ग्रहालयका सामग्री, आईटीको व्यवस्था, विद्युतीय हाजिरीको व्यवस्था, विद्यालयको वेबसाइट लगायतका विषयलाई आधार बनाइएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय तहमा एक–एक वटा नमूना विद्यालय बनाउने गरी तयारी गरेको छ । नमूना विद्यालय विकास कार्यक्रम अनुसार नमुना विद्यालयमा करारमा प्रधानाध्यापक नियुक्ति गरिने प्रावधान राखिएको छ । पाँच वर्षे करारमा नियुक्त हुने प्रधानाध्यापक खुला विज्ञापन मार्फत तोकिएका मापदण्ड पूरा गरेर परीक्षामा अब्बल भएर मात्र हुनेछन् । मावि तहमा कम्तीमा पाँच वर्ष स्थायी सेवा भएका, स्नातकोत्तर तह उत्तीर्ण, प्रधानाध्यापकको एक महिने व्यवस्थापकीय र प्रशासनिक तालिम लिएका, ५५ वर्ष उमेर नटेकेका शिक्षकले प्रधानाध्यापक हुने प्रतियोगितामा भाग लिन पाउने र प्रतिष्पर्धामा भाग लिएका प्रतिष्पर्धीको विद्यालय विकास प्रस्ताव माथि विज्ञ समूहको मूल्याङ्कनका आधारमा प्रअ छनोट गरिने तय गरिएको छ ।
सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व क्षमता मुख्य मानिन्छ । प्रधानाध्यापक विद्यालयको एक कुशल नेतृत्वकर्ता हो । विद्यालयको विकास र उन्नतिका लागि प्रधानाध्यापकको भूमिका प्रमुख हुन्छ । यसका लागि प्रधानाध्यापकको नेतृत्व क्षमता उच्च हुनुपर्छ । सामुदायिक विद्यालयका प्रधानाध्यापक योग्य र नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने हुनुपर्ने कुरामा जोड दिइएको छ । सामुदायिक विद्यालयहरूमा योग्यता, दक्षता र प्रतिस्पर्धाका आधारमा पारदर्शी ढंगले प्रअ नियुक्ति गर्ने भन्ने आफैँमा विद्यालयमा गुणस्तर कायम गर्ने अभिष्टका लागि महत्त्वपूर्ण पक्ष हो । नेतृत्व लिने कार्य त्यति सरल र सहज हुन्न । एउटा प्रधानाध्यापकले लिनुपर्ने नेतृत्वदायी भूमिकालाई पनि त्यति हल्का तवरले सोच्नु हुँदैन । उसले आफ्ना शिक्षकहरू, विद्यार्थीहरू, विद्यालय व्यवस्थापन समिति, कर्मचारीहरू, अभिभावकहरू आदि सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने हुन्छ । विगत धेरै वर्षदेखि शिक्षक तथा प्रधानाध्यापकहरूलाई पेसागत दक्षता, क्षमता अभिवृद्धि र वृत्ति विकासका लागि लक्षित गरेर धेरै प्रकारका तालिम, प्रशिक्षण हुँदै आएका छन् । स्थानीय सरोकारवालाको भावना आत्मसात गर्नसक्ने प्रअ नै सफल हुन्छ ।
सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको शैक्षिक नेतृत्व अवस्था, पेसागत चुनौति र सिपगत क्षमताका आवश्यकता पहिचानु गर्नु सबभन्दा महत्वपूर्ण हुन्छ । शिक्षक विद्यार्थीलाई नियमित र अनुशासित बनाउन प्रधानाध्यापकका योजना तथा कार्यक्रम, सेवासुविधा व्यवस्थापन र परिचालनमा प्रधानाध्यापक भूमिका महत्वपूर्ण हुन्छ । बलियो आचारसंहिता निर्माण र कार्यान्वयन गर्ने, विद्यार्थीको सिकाइबारे उत्सुक हुने, विद्यार्थी तथा शिक्षकसंँग निरन्तर अन्तरक्रिया गर्ने एवम् सही परामर्श दिने, विद्यार्थीलाई समानता र सम्मानपूर्वक सिक्ने सिकाउने वातावरण बनाउने, विद्यार्थीको मनोभाव बुझेर आत्मबल र ऊर्जा भर्न सक्ने, किताबी ज्ञान र व्यवहार जोड्न मनोरञ्जनात्मक सिकाइमा केन्द्रित गर्ने र सिकारुलाई आफ्नो मूल्याङ्कन आफैँ गर्न निरन्तर सुधारका लागि दत्तचित्त हुने, जुनसुकै स्रोतबाट उपलब्ध साधन स्रोतको अधिकतम् सदुपयोग गर्न सरोकारवालाको सहभागिता र सहमतिमा योजना निर्माण तथा पारदर्शितापूर्वक कार्यान्वयन गर्ने, दूरद्रष्टा, योजना साथ सबैको सहभागिता तथा विश्वासमा काम गर्ने नेतृत्व क्षमता विकास भएको, समन्वय, पारदर्शी तथा निष्पक्ष व्यवहार एवम् सामूहिक निर्णयको शैक्षिक वातावरण निर्माण गर्न प्रयत्नशील रहने, शिक्षित र जागरुक अभिभावकलाई विद्यालयप्रति विश्वस्त तुल्याउने एवम् व्यवस्थापन समितिको सहयोग र पृष्ठपोषणमा नेतृत्व गर्ने, पेसागत हैसियतको बोध गर्ने, पेसाप्रतिको नैतिक जिम्मेवारी बहन गर्ने र आफू मातहत उचित पुरस्कार तथा दण्ड सजायको अधिकार प्रयोग गर्ने आदि गुण हुनुपर्छ ।
प्रजातान्त्रिक, पारदर्शी, तटस्थ र लगनशील नेतृत्व, पेसागत दक्षता, प्रशासकीय तथा व्यवस्थापकीय गुण, राम्रो योजनाकार, समयसापेक्ष शैक्षिक नीति निर्माण र कार्य योजना तर्जुमा क्षमता, मनोविज्ञ तथा कुनै विषयमा दक्ष एवम् अध्ययनशील व्यक्तित्व, विद्यालयको सेवा क्षेत्रका अभिभावक एवम् समाजको यथार्थबोध भएका प्रअहरू नै सफल प्रअका रूपमा दरिन्छन् । समयको मागले अङ्ग्रेजी माध्यममा पठनपाठन र विज्ञान प्रविधिमैत्री शिक्षण सिकाइ नगर्ने विद्यालय चलाउन र प्रतिस्पर्धी हुन कठिन हुँदै गएको छ । विद्यालयहरूले आफैं पनि सूचना प्रविधिको व्यवस्थापन र आवश्यक सिप हासिल गर्ने तथा राम्रा विद्यालयबाट सिकेर प्रतिस्पर्धी हुन नसकेमा आफ्नो अस्तित्वलाई जीवन्त बनाइराख्न सम्भव देखिँदैन । प्रत्येक विद्यालयले प्रधानाध्यापक र शिक्षकहरूको जोडबलमा मात्र विद्यालयले चाहेको नतिजा निकाल्न कठिन हुने सत्य बुझ्नुपर्छ र अभिभावकको भूमिकालाई पनि आत्मसात गर्नुपर्ने हुन्छ । नमूना विद्यालयको अवधारणाले प्रधानाध्यापकको पदलाई छुट्टै तह कायम गर्ने र उसका सहयोगीका रूपमा लेखा व्यवस्थापक, कार्यालय सहायक, कार्यालय सहयोगी जस्ता पदको व्यवस्था गर्ने परिकल्पना गरेको छ, जसबाट विद्यालय अभिलेख व्यवस्थापन प्रणाली र सम्पत्ति सुरक्षामा बल पुग्ने देखिन्छ ।
अभिभावकहरू पेसागत रूपमा विद्यालयको नेतृत्व गर्ने प्र.अ., अध्यापनरत शिक्षक र आफ्नो भविष्य जोडिएको पठनपाठनमा संलग्न विद्यार्थीहरू सबै उत्कृष्ट संस्थासित जोडिएर सन्तुष्टिको भण्डारको रूपमा विद्यालय विकास भएको देख्न चाहन्छन् । सामुहिक प्रतिबद्धता, पेसागत इमान्दारिता र पारदर्शिता भएको नेतृत्त्वबाट मात्र अपेक्षित नतिजा हासिल गर्न सकिन्छ । तसर्थ, सरोकारवालाबाट समस्या पहिचान, समाधानको पहल र निरन्तर आत्मसमीक्षा खांँचो छ । विद्यालयले निरन्तर अन्तरक्रिया, प्राप्त सबल पक्षको संरक्षण, पृष्ठपोषण र कमजोरी न्यूनीकरणका प्रयासमा विविध विकल्प पहिचानका साथ समुदायको विश्वास जित्नु अनिवार्य छ । यी सबै पक्षमा सुधारका लागि योग्य र कुशल, समन्वयकारी र समर्पित प्रअको खाँचो हुन्छ ।
नमूना विद्यालयको विकासका लागि सामुदायिक विद्यालयलाई प्रतिष्पर्धी बनाउन विद्यालय व्यवस्थापन समितिको भन्दा प्रअको भूमिकालाई बढी जोड दिइएको छ । प्र.अ.को नियुक्ति शैक्षिक योजना प्रस्ताव मूल्याङ्कनका आधारमा गर्ने, तोकिएको लक्ष्यभन्दा माथिको उपलब्धि नतिजा दिने र सिकाइमा सफल प्र.अ. लाई आकर्षक सेवासुविधा दिने तथा लक्ष्यमा नपुग्ने कमजोरहरूलाई नेतृत्वबाट हटाउने नीति छ । कुनै पनि विद्यालयको शैक्षिक सफलता र विफलता समुदायको भूमिकामा निर्भर गर्दछ । समुदायलाई परिचालन गर्ने, विद्यालयको लक्ष्य र उद्देश्यप्रति केन्द्रित गर्ने प्रअले हो । शैक्षिक गुणात्मकता र उपलब्धि प्राप्तिमा समुदाय, सचेत अभिभावक, स्पष्ट शिक्षा नीति र नेतृत्वको ठूलो हात हुने गर्दछ ।
शिक्षक–कर्मचारीहरूमा विद्यालयको सुधारका लागि ‘टिमवर्क’ र ‘टिम स्पिरिट’को भावना जागृत गर्न सक्यो भने प्रअ सफल भयो भन्ने मान्नुपर्छ । प्रअ गुटबन्दीको अङ्ग बन्नुहुँदैन । स्वार्थी र आत्मकेन्द्रित सोचको प्रअबाट नमूना विद्यालय बन्दैन । प्रअका लागि सबै शिक्षक समान हुन् । सबै शिक्षकहरूको एउटै चासो र चिन्ता भनेकै कसरी सिकाइ स्तर बढाउने र आफ्ना विद्यार्थीलाई मैले जसरी पनि राम्रो गराउनुपर्छ भनेर मिहिनेतका साथ लाग्ने शिक्षक आजको आवश्यकता हो । अघिल्लो विद्यालयमा नाम कमाएका उत्कृष्ट शिक्षकहरू पनि फितलो प्रअ र व्यवस्थापन भएका विद्यालयमा सरुवा भएर आएपछि प्रस्तुतिमा कमजोर बन्दै गएका धेरै उदाहरण छन् । निरन्तर उत्कृष्ट नतिजा ल्याउन विद्यालयलाई सफल बनाउन शिक्षकमा समर्पण र लगाव सृजना गर्नसक्ने प्रअ सफल हुन्छ । मुख्यतः प्रधानाध्यापक मिहिनेती, दक्ष र नेतृत्वदायी क्षमताको हुनुपर्छ । कुशल प्रशासक र दूरदर्शी प्रअले नै विद्यालय सुधार गर्न सक्छ ।
अहिले राम्रा भनिएका सामुदायिक विद्यालयहरू हेर्दा प्रधानाध्यापकहरूकै लगनशीलता, मिहिनेत र कुशल नेतृत्वले राम्रो भएको देखिन्छ । प्रअमा बहुमुखी प्रतिभा र भूमिका हुन जरुरी छ । प्रधानाध्यापक आफैं नै पहिले रोलमोडल हुनुपर्छ । प्रअमा मिलनसारिता, सामुहिकता र सहकार्यको भावना हुन आवश्यक छ । कुशल र नेतृत्वदायी प्रअको समन्वयात्मक प्रयासबाट विद्यालय सुध्रिन्छ । आफूजतिकै अनुभव भएका, योग्यता भएका र विद्यालयप्रति सकारात्मक सोच भएका शिक्षकहरूलाई नसमेटी सबै कामको सर्वेसर्वा आफैं हुने प्रअबाट विद्यालय चल्ने मात्र हो, रूपान्तरण सम्भव छैन । आजको प्रअ विगतको जस्तो अधिनायकत्व अभ्यास गर्ने शासक होइन र मात्र कुर्सीमा बस्ने प्रशासक पनि होइन । ऊ कुशल व्यवस्थापक र समन्वयकर्ता हो । प्रअले विद्यालयलाई पर्याप्त समय दिएर मात्र हुँदैन, उसले विद्यालयमा पर्याप्त गुणात्मक समय दिनुपर्छ । प्रधानाध्यापक मालिक अथवा ‘बोस’ नभई सेवक बन्यो भने विद्यालय सुध्रिन्छ ।