असार १५: राष्ट्रिय धान दिवस मनाउँदै श्री जगन्नाथ डेडराज

   


आज २०८१ अषाढ १५ गते दही चिउरा खाने दिन श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयले आफ्नै स्वामित्वमा रहेको जमिनमा धान रोपेर २१ औँ राष्ट्रिय धान दिवस मनाएको छ।
श्री जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय को बालविज्ञान तर्फका संयोजक श्री सिजन बजगाई को संयोजकत्वमा विद्यार्थीहरूको व्यापक सहभागितामा सो कार्यक्रम सम्पन्न गरिएको हो। 
यस पावन अवसरमा विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री पुष्कल पराजुली शिक्षक अभिभावक सङ्घका अध्यक्ष श्री गोविन्द बिष्ट विद्यालयका प्रधानाध्यापक श्री हिरामणि पौडेल। लगायत विद्यालय व्यवस्थापन समितिका सदस्यहरू र शिक्षक अभिभावक संघका सदस्यहरूको पनि गरिमामय उपस्थिति रहेको थियो। यस अतिरिक्त विद्यालयमा कार्यरत शिक्षकहरूको पनि सक्रिय सहभागिता रहेको थियो

असार १५ अर्थात्, राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ आज (शनिबार) २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो ।





योवर्ष असार मध्यसम्म पनि पर्याप्तमात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुन सकेको छैन। सरकारी तथ्यांकअनुसार अहिलेसम्म ९.८ प्रतिशत मात्र रोपाइ भएको छ। कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको जनाएको छ। ​

२०६१ मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

किसान वर्षभरका लागि अन्न जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै हिलोमा धान रोपिन्छ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।

दहीचिउरा खाने दिन

नेपाली समजमा असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्धक मानिन्छ। नेपालको मुख्यबालीको रूपमा रहेको धानबाट बन्ने चिउरा पनि पौष्टिक पदार्थ मानिएको छ।यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ ।

Post a Comment

Previous Post Next Post