मूल्याङ्कनको नयाँ माध्यम रुब्रिक्स

 

मूल्याङ्कनको नयाँ माध्यम रुब्रिक्स

आधिकारिक मूल्याङ्कन विधिबाट विद्यार्थीले आफूले पाएको ज्ञानलाई ब्यवहारमा कत्तिको उतार्न सक्छन् वा उतारिरहेका छन् भन्ने कुरा को मूल्याङ्कन गरिन्छ । यस विधि अनुसार मूल्याङ्कन गर्ने नयाँ र प्रभावकारी साधन हो रुब्रिक्स (Rubrics) ।

शिक्षकले नियमित रूपमा विद्यार्थीको मूल्याङ्कन गरिरहनु पर्ने हुन्छ । कुनै पनि विषयमा विद्यार्थीका तीनवटा पक्षको मूल्याङ्कन गरिन्छ— ज्ञान, बोध र प्रयोग । विद्यार्थीको मूल्याङ्कन गर्ने विभिन्न विधिमध्ये एक हो आधिकारिक मूल्याङ्कन । यस विधिबाट विद्यार्थीले आफूले पाएको ज्ञानलाई व्यवहारमा कत्तिको उतार्न सक्छन् वा उतारिरहेका छन्

भन्ने कुरा को मूल्याङ्कन गरिन्छ । यो विधि अनुसार मूल्याङ्कन गर्ने नयाँ र प्रभावकारी साधन हो रुब्रिक्स (च्गदचष्अक) ।

आधिकारिक मूल्याङ्कन कसरी
आधिकारिक मूल्याङ्कन भनेको विद्यार्थीहरूको उच्च तहको उपलब्धिको लेखाजोखा हो । अर्थात् विद्यार्थीले कक्षाकोठामा सिकेको ज्ञान र सीपलाई दैनिक जीवनमा प्रयोग गर्ने दक्षताको मूल्याङ्कन हो । उदाहरणका लागि विद्यार्थीहरूको विश्लेषण र संश्लेषण क्षमता, सिर्जनात्मकता, सहकार्यात्मक, लेखन र मौखिक अभिव्यक्ति सम्बन्धी सीप आदिको लेखाजोखा नै आधिकारिक मूल्याङ्कन हो । कागज, कलम र परीक्षामा आधारित परम्परागत मूल्याङ्कन प्रणालीबाट लेखाजोखा गर्न नसकिने पक्षहरूलाई यो मूल्याङ्कन विधिले समेट्छ । यसबाट पोर्टफोलियो (जर्नल, लेख, चार्ट, चित्र, निबन्ध, कविता, कलात्मक वस्तु आदि), परियोजना, अनुसन्धान, लिखित तथा मौखिक प्रस्तुति लगायतका कार्यहरूको लेखाजोखा गरेर विद्यार्थीको आधिकारिक मूल्याङ्कन गरिन्छ । यस प्रकारको लेखाजोखाले शिक्षण, सिकाइ र मूल्याङ्कन तीनै पक्षलाई एकीकृत गर्द छ र सिकाइलाई व्यावहारिक र जीवनोपयोगी बनाउन मद्दत पुर्याउँछ ।

शिक्षकहरूले पहिला देखि नै कुनै न कुनै रूपमा स्कूलमा आधिकारिक मूल्याङ्कन गरिरहेका हुन्छन् । उदाहरणका लागि नेपाली विषयका शिक्षकले निबन्ध, कथा, कविता, संवाद आदि लेख्न लगाएर विद्यार्थीको दक्षताको लेखाजोखा गरिरहेका हुन्छन् भने गणित विषयका शिक्षकले स्कूलको खेलमैदानको लम्बाइ, चौडाइ नापेर क्षेत्रफल निकाल्ने काम परियोजना कार्यको रूपमा दिन सक्छन् । त्यसै गरी सामाजिक शिक्षा विषयका शिक्षकले विद्यार्थीहरूलाई कुनै क्षेत्रको भ्रमणमा लगेर अवलोकन गराई सिकेका कुरा प्रतिवेदनका रूपमा प्रस्तुत गर्न लगाउन सक्छन् । यी कार्यहरूको आधारमा विद्यार्थीहरूको सिकाइ उपलब्धि कुन स्तर को छ भन्ने लेखाजोखा गर्नु नै आधिकारिक मूल्याङ्कन हो ।

के हो रुब्रिक्स
रुब्रिक्स ९च्गदचष्अ० शब्द ल्याटिन भाषाको रुब्रिका ९च्गदचष्अब० बाट आएको हो जसको शाब्दिक अर्थ हुन्छ ‘रातो चक’ । तेह्रौँ शताब्दीतिर पुस्तकको कुनै अंशलाई विशेष जोड दिनका लागि रातो रङले रङ्गाइएको (हाइलाइट गरिएको) शब्दलाई रुब्रिक्स भन्ने गरिन्थ्यो । अहिले आधिकारिक मूल्याङकनको एउटा साधनको रुपमा शिक्षा क्षेत्रमा रुब्रिक्स शब्द व्यापक रूपमा प्रयोग हुने गरेको छ । सही मूल्याङ्कनका लागि तयार गरिएको निर्देशिका नै रुब्रिक्स हो जसमा विद्यार्थीहरूको कार्यको स्तर विस्तृत रूपमा उल्लेख गरिएको हुन्छ । यसबाट विद्यार्थीको कार्यको स्तर कुन तहको छ भन्ने कुरा यकिन गर्न सकिन्छ ।

रुब्रिक्सको प्रयोगबाट विद्यार्थीहरूको सिकाइ उपलब्धिलाई एकरूपताका साथ अङ्कन गर्न सकिन्छ । रुब्रिक्सको प्रयोग गरी विद्यार्थीहरू स्वयंले पनि आफ्नो कार्यको आफैँ मूल्याङ्कन गर्न सक्छन् । त्यसैले रुब्रिक्सलाई समूह वा व्यक्तिगत कार्य मूल्याङ्कनको उपकरणको रूपमा लिइन्छ । यो श्रेणी मापन स्केलको परिमार्जित र विकसितरूप हो जसमा मूल्याङ्कनका आधार तथा अङ्कनको विस्तार र सूचक स्पष्ट रूपमा उल्लेख गरिएको हुन्छ ।

विद्यार्थीहरूले तयार गरेका परियोजना कार्यको प्रतिवेदन, भ्रमण प्रतिवेदन, जर्नलका लेख आदिको माध्यमबाट स्तर निर्धारण गरिन्छ भने रुब्रिक्सको प्रयोग गरी विषयवस्तुको छनोट, प्रतिवेदनको भाषा, प्रस्तुतिको शैली, निष्कर्ष आदि पक्षहरूको समग्र मूल्याङ्कन गरिन्छ । कक्षा शिक्षणबाहेक अन्य क्षेत्रहरूमा पनि रुब्रिक्सको प्रयोग गर्ने गरिएको पाइन्छ । त्इभ्ँी, क्ष्भ्ीत्क् परीक्षामा निबन्ध लेखनको मूल्याङ्कनका लागि पनि सम्बन्धित विज्ञहरूले रुब्रिक्स प्रयोग गर्ने गरेका छन् ।

रुब्रिक्सका अङ्ग    
रुब्रिक्सका मुख्य तीन अङ्ग हुन्छन् ।

आधारः कुनै पनि कार्यको आधार प्रतिफल र प्रक्रियालाई समेत समेट्ने खालको स्पष्ट र सान्दर्भिक हुनुपर्दछ । विषयवस्तु, समय व्यवस्थापन, प्रभाव, कलात्मकता, विधि, सहभागिता, आकार, प्रस्तुतीकरण आदि यसका उदाहरण हुन सक्छन् । रुब्रिक्समा के के आधारहरू समावेश गर्ने भन्ने कुरा कार्यको प्रकृतिमा निर्भर गर्द छ । उदाहरणका लागि भाषा विषयमा निबन्धको मूल्याङ्कनका लागि तयार गरिएको रुब्रिक्समा भाषिक शुद्धता र प्रस्तुतिको शैली एउटा आधार हुन सक्छ भने कुनै विषयको पोस्टर निर्माणका लागि तयार गरिएको रुब्रिक्समा आकार वा साइज एउटा आधार हुन सक्दछ ।

अङ्कनको तह वा विस्तारः कार्यको गुणस्तर अभिव्यक्त गर्नका लागि अङ्कनको तह प्रयोग गरिन्छ । यो प्रायः जोर सङ्ख्यामा हुन्छ र यसलाई मापनको रेन्ज पनि भनिन्छ । कुनै पनि आधारमा बढीमा कति देखि घटीमा कतिसम्म अङ्क दिने भन्ने कुरा नै अङ्कनको तह वा विस्तार हो । उदाहरणका लागि धेरै रराम्रो (४), रराम्रो (३), सन्तोषजनक (२), सुधार गर्नु पर्ने (१) वा अति उत्तम (४), उत्तम (३), मध्यम (२) र निम्न (१) ।

सूचकः आधारको स्तर वा तह जनाउनका लागि सूचकको प्रयोग गरिन्छ । उदाहरणका लागि निबन्धको मूल्याङ्कनका लागि बनाइको रुब्रिक्समा भाषिक शुद्धतालाई एउटा आधार बनाएर यसको अङ्कनको तह अति उत्तममा (४), उत्तममा (३), मध्यममा (२) र निम्नमा (१) दिने तय गरियो भने कुन स्तर का लागि (४) र कुन स्तर का लागि (१) दिने भन्ने कुरा स्पष्ट रूपमा उल्लेख गर्नु नै सूचकको तयारी गर्नु हो । सूचक सिकारुले समेत बुझन सक्ने गरी स्पष्ट, मापनीय र वस्तुगत हुनुपर्दछ । रुब्रिक्सको प्रयोग गरी कार्यको मापन गर्ने समयमा आधारको सम्बन्धित सूचकमा चिन्ह लगाइन्छ । रुब्रिक्समा परिमाणात्मक र गुणात्मक पक्ष समेट्ने सूचक सन्तुलित रूपमा प्रयोग हुनुपर्दछ ।

रुब्रिक्सको निर्माण र प्रयोग
आप्mनो कार्यको लेखाजोखाका लागि विद्यार्थीहरूलाई नै रुब्रिक्सको निर्माण गर्न लगाउन पनि सकिन्छ । त्यसका लागि,
१) विद्यार्थीले पूरा गर्नु पर्ने कार्यको छनोट/निर्धारण,
२) आधारहरू निर्धारण,
३) अङकनको तह निर्धारण,
४) हरेक आधारका लागि सूचकको निर्धारण,
५) यकिन गरिएका आधार, अङकनको तह र सूचकको तालिकीकरण,
६) तोकिएको कार्य सम्पादन तथा
७) रुब्रिक्सको प्रयोगबाट सम्पादन गरिएको कार्यको मूल्याङकन जस्ता चरणहरू अपनाउनु पर्दछ ।

रुब्रिक्स निर्माण गर्दा सकेसम्म जोर सङ्ख्यामा अङ्कनका तहहरू राख्नुपर्दछ । आधारहरूको सङख्या धेरै कम वा धेरै बढी हुनुहुँदैन । आधारहरू स्पष्ट हुनुपर्दछ । सूचकहरू स्पष्ट, मापनीय, अवलोकनीय र वस्तुगत हुनुपर्दछ । उदाहरणका लागि विद्यार्थीहरूलाई पोस्टर निर्माण कार्य दिइएको छ भने उनीहरूले सर्वप्रथम कुन कुरा को पोस्टर निर्माण गर्ने भन्ने कुरा यकिन गर्द छन् । अनि पोस्टरको मूल्याङ्कन कुन कुन कुरा का आधारमा गर्ने (आधार), हरेक आधारका लागि कति देखि कति अङ्क दिने (मान ौँ १ देखि ४) र कस्तो पोस्टरलाई (४) दिने र कस्तोलाई (१) दिने (सूचक) भन्ने कुरा को आधारमा रुब्रिक्स निर्माण गर्द छन् । अनि मात्र पोस्टर निर्माण गर्द छन् । पोस्टर निर्माणको क्रममा सूचकलाई ध्यान दिन्छन् अर्थात् कसरी निर्माण गरे मा हरेक आधारमा (४) अङ्क प्राप्त गर्न सकिन्छ भन्ने कुरा लाई मनन गर्दै पोस्टर निर्माण गर्द छन् । पोस्टर तयार भइसकेपछि रुब्रिक्सको आधारमा मूल्याङ्कन गरिन्छ । हरेक आधारमा प्राप्त गरेको प्राप्ताङ्क जोडेर विद्यार्थीहरूको कुल प्राप्ताङ्क निकालिन्छ ।

विद्याथीहरू आफैँले रुब्रिक्स प्रयोग गर्दा मूल्याङ्कनको आधार नबुझने, सूचक नबुझने, सूचकहरू मापनीय, वस्तुगत र अवलोकनीय नहुने, आधारहरू चाहिनेभन्दा बढी हुने तथा अङ्क प्राप्त गर्ने तरिका नबुझने जस्ता समस्याहरू आउन सक्दछन् ।
विद्यार्थीहरूको सिकाइ अभिवृद्धिका लागि रुब्रिक्स प्रयोग गरिने भएकाले यसको अवधारणाका बारेमा उनीहरू स्पष्ट हुनुपर्दछ । यसका लागि रुब्रिक्स निर्माणको क्रममा विद्यार्थीहरूको सहभागिता आवश्यक पर्दछ । ... एचगुडरिचले आफ्नो पुस्तक अन्डरस्ट्यान्डिङ रुब्रिक्समा विद्यार्थीहरूलाई रुब्रिक्सको प्रयोगगराउँदा निम्न चरणहरू अपनाउनुपर्ने उल्लेख गरेका छन्ः

१) तयार गरिएको रुब्रिक्स र मूल्याङ्कन गर्नु पर्ने सामग्री अध्ययन गर्न लगाउने,
२) रुब्रिक्स प्रयोग गरी प्रारम्भिक अङक दिन लगाउने,
३) अङ्कनमा सहयोगका लागि सहपाठी चयन गर्न लगाउने,
४) सहपाठीसँग मिलेर सामग्री पुनः अध्ययन गर्न लगाउने,
५) सहपाठीसँग मिलेर संयुक्त रूपमा पुनः अङ्कन गर्न लगाउने र
६) प्राप्ताङ्कमा पुनर्विचार गर्न लगाउने ।

रुब्रिक्सको उपयोगिता
रुब्रिक्सको प्रयोग निर्णयात्मक मूल्याङ्कनका लागि भन्दा निर्माणात्मक मूल्याङ्कनका लागि बढी प्रयोग गरिन्छ । यसको प्रयोगबाट शिक्षण र सिकाइको गुणस्तर मा सुधार ल्याउन सकिन्छ । विद्यार्थीहरूले आफ्नै र सहपाठीहरूको मूल्याङ्कनका लागि पनि रुब्रिक्स प्रयोग गर्न सक्दछन् । यसबाट विद्यार्थीहरूले आफैँ पृष्ठपोषण प्राप्त गर्न सक्छन् र त्यसको आधारमा आफ्नो कार्यमा सुधार ल्याउँछन् । यसको प्रयोगबाट पृष्ठपोषण प्रणालीलाई सबल बनाउन सकिन्छ । तोकिएको कार्यसम्पादन गर्नु भन्दा अघि रुब्रिक्स निर्माण गर्नु पर्ने हुँदा विद्यार्थीहरूले आफूले पूरा गर्नु पर्ने कार्यको अपेक्षित स्तर पहिले नै थाहा पाउन सक्छन् जसबाट उनीहरूको कार्यसम्पादनको स्तर वृद्धिमा मद्दत पुग्दछ ।

रुब्रिक्स प्रयोग गरेर विद्यार्थीको कार्यको सही र वस्तुगत रूपमा मूल्याङ्कन गर्न सकिन्छ । यसबाट शिक्षकहरूलाई शिक्षणमा सुधार ल्याउन मद्दत पुग्छ । शिक्षकहरूले रुब्रिक्स प्रयोग गरेर विद्यार्थीहरूको कार्यको कम समयमा प्रभावकारी रूपमा मूल्याङ्कन गर्न सक्छन् । यसबाट मूल्याङ्कनमा पारदर्शिता ल्याई विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूमा मूल्याङ्कन प्रणालीप्रति विश्वसनीयता अभिवृद्धि गर्न सकिन्छ । रुब्रिक्स आधिकारिक मूल्याङ्कनको एक महत्वपूर्ण साधन हो । शिक्षकहरूले शिक्षण तथा मूल्याङ्कनको अभिन्न अङ्कका रूपमा रुब्रिक्सको प्रयोग गरेर विद्यार्थीहरूको सिकाइ उपलब्धिमा उल्लेखनीय सुधार ल्याउन सक्छन् । साथै शिक्षण सिकाइलाई व्यावहारिक र जीवनोपयोगी बनाउन सक्छन् ।       

(लेखक शैक्षिक जनशक्ति विकास केन्द्र सानोठिमीका प्राविधिक अधिकृत हुन्)

यस सम्बन्धी थप जानकारीकालागि
www.rubrics4teachers.com

 

commercialcommercialcommercialcommercial
 

Post a Comment

Previous Post Next Post