जापानमा विद्यालय बिहान साढे ८ बजे शुरू हुन्छन् । तर हामी शिक्षक ७ बजे नै पुगिसक्छौं । डेस्क–बेन्च मिलेको छ छैन, हेर्ने र मिलाउने गर्छौं । विद्यार्थी आइपुग्नुअघि कक्षाकोठा व्यवस्थित गरिसक्छौं । जापानका सरकारी विद्यालयमा पियन वा कार्यालय सहयोगी हुँदैनन् । कक्षाकोठा दिनदिनै विद्यार्थीले नै सफा गर्छन् । शौचालय अनि भान्सा पनि उनीहरूले नै सफा गर्छन् । यसमा शिक्षकहरू साथमा हुन्छन् । सरसफाइका लागि ४/५ जना विद्यार्थीको फरक–फरक समूह बनाइएको हुन्छ । शुरूका कक्षादेखि नै उनीहरूलाई सरसफाइ गर्न सिकाइन्छ । यो पनि शिक्षाकै अंग हो ।
कोही विद्यार्थी पढाइमा कमजोर भएमा कुन विषयमा किन कमजोर भए भनेर विषयगत शिक्षकहरूबीच छलफल हुन्छ । त्यसपछि मात्र कमजोर विद्यार्थीलाई कसरी माथि उठाउन सकिन्छ भनेर योजना बनाइन्छ ।
कक्षा शिक्षकले हाजिरी गर्दा हरेक विद्यार्थीको मुहार ध्यानपूर्वक हेर्ने गर्छौं । उनीहरूको अनुहार उज्यालो छ कि अँध्यारो छ नियाल्ने गरिन्छ । यदि कसैको अनुहार अँध्यारो छ भने सञ्चो भएन कि भनेर सोध्छौं । अरू नै केही समस्या भए अभिभावकलाई सोध्छौं र समाधानको प्रयास गर्छौं । यसो गरिएन भने समस्या ठूलो हुँदै जान्छ । त्यसले अनेक असर निम्त्याउन सक्छ । त्यही दिन समस्या सल्टियो भने उसको त्यो दिन राम्ररी बित्छ र त्यस दिनको उसको पढाइ पनि राम्रो हुन्छ ।
विद्यार्थीले किताब मात्रै पढ्न मन पराउँदैनन् । त्यसैले उनीहरूलाई कक्षाकोठा बाहिर लैजाने गर्छौं । विभिन्न क्रियाकलाप गराउँछौं । विद्यार्थीलाई नियमित रूपमा संगीत, कला र खेलमा सहभागी गराउँछौं । यसबाट विद्यार्थीलाई धेरै कुरा सिकाउन सकिन्छ । जस्तो, खेलमा हार–जीत हुन सक्छ । यसैकारण झ्गडा हुन सक्छ । तर ‘खेल भनेको सबैको लागि खेल्ने हो, देशको लागि खेल्ने हो’ भनेर बुझउन सकिए उनीहरूलाई अनुशासन सिकाउन सकिन्छ ।
जापानमा बच्चाबेलादेखि नै जिम्मेवार बन्न सिकाइन्छ । हामीले उनीहरूलाई आफ्नो लागि मात्र होइन आफ्नो वरपर, समाज र देशको लागि काम गर्नुपर्छ भनेर सिकाइरहेको हुन्छौं । विद्यालय तहको पढाइ पूरा हुँदा उनीहरूमा आफूलाई राम्ररी अभिव्यक्त गर्न सक्ने क्षमता, न्याय, इच्छाशक्ति र समाजमा मिलेर बस्ने सीप विकास भएको हुन्छ ।
हरेक सोमवार नैतिक शिक्षाको पढाइ हुन्छ । यसमा यसो गर्नुपर्छ उसो गर्नुपर्छ भनेर शिक्षकले अर्ति–उपदेश दिने भन्दा पनि शिक्षक विद्यार्थीबीच छलफल हुन्छ । उनीहरुलाई कहिले कुनै किताब पढ्न त कहिले कुनै विषयवस्तुमा छलफल गर्न दिइन्छ । जस्तो, फोहोर जहाँ पायो त्यहीं फाल्नुहुन्छ कि हुँदैन, कक्षामा समयमा आउनुपर्छ कि पर्दैन, म्यूजियम वा कतै जाँदा हल्ला गर्नुहुन्छ कि हुँदैन आदि जस्ता विषयमा छलफलपछि विद्यार्थी आफैं निष्कर्ष निकाल्छन् ।
विद्यालयमा अङ्ग्रेजी भाषाको पढाइ हुन्छ । तर, गणित, विज्ञान, सामाजिक शिक्षा लगायत विषय जापानी भाषामा पढाइ हुन्छ । सानै कक्षादेखि विद्यार्थीलाई श्रम र कामको महत्व बुझाउन व्यावसायिक सीप पनि सिकाइन्छ । सिलाइ, बुनाइ, सिकर्मी, डकर्मी, इलेक्ट्रिसियन तालिम दिइन्छ । माध्यमिक तहका विद्यार्थी त कम्पनीमा गएर इन्टर्नसिप समेत गरेर पारिश्रमिक प्राप्त गर्छन् ।
जापानमा शिक्षकको सेवा–सुविधा राम्रो छ । घरपायक भन्दा अन्यत्र गएर काम गर्नुप¥यो भने आधा घरभाडा थप पाउँछन् । पेन्सन पनि राम्रो छ ।
शिक्षकका विभिन्नखाले समस्या वा दुःख हुन सक्छन् । तर पनि विद्यार्थीलाई माया गर्नुपर्छ । सम्मान दिनुपर्छ । उनीहरुको जीवनमा खुशी र सुख होस्, बच्चा राम्रो हुन् र देश राम्रो होस् भन्ने उद्देश्य हुनुपर्छ ।
विद्यार्थीले शिक्षकलाई हेरेर पढिरहेको हुन्छ । शिक्षक राम्रो भएन भने विद्यार्थी राम्रो हुँदैन । राम्रो विद्यार्थी बनाउन शिक्षकले मिहिनेत गर्नैपर्दछ।