अहिले ममाथि धेरै जिम्मेवारी छ । म आफू र आमालाई सान्त्वना दिने प्रयास गर्छु । किनकि म धेरै टाढा जानुपर्छ । मलाई थाहा छ, पेशेवर फुटबलरको जीवन यस्तै हुन्छ । म फुटबल मैदानमा पीडा बिर्सने प्रयास गर्छु । जिन्दगी कसैको लागि रोकिँदैन ।

साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि यसपटक पनि बंगलादेशले जित्यो । बुधबार राति त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई २-१ गोल अन्तरले हरायो ।
बंगलादेशलाई मनिका चक्माले सुरुवाती अग्रता दिलाइन् । उनले ५३औं मिनेटमा गोल गरेकी हुन् । तर, त्यसको दुई मिनेटपछि नै नेपालकी अमिशा कार्कीले गोल फर्काइन् ।
८२औं मिनेटमा रितु पोर्ना चक्माले गोल गर्दै बंगलादेशको टोलीलाई च्याम्पियन बनाइन् । चक्माले नेपालकी अनिता केसीलाई बिट गर्दै प्रहार गरेको बललाई नेपालकी गोलकिपर एवम् कप्तान एन्जिला तुम्बापो सुब्बाले बाहिर पठाउने प्रयास गरे पनि असफल भइन् । बंगलादेश लगातार दोस्रोपटक च्याम्पियन ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकै कारण रितु सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । बंगलादेशलाई उपाधि दिलाउन उनको महत्त्वपूर्ण भूमिका छ ।
अब जानौँ, नेपालमा आएर उत्कृष्ट प्रदर्शन गर्ने रितुको खेल जीवनबारे :
रितु आफ्नो ड्रिब्लिङ र पासिङ सीपका लागि महिला फुटबलरमाझ चर्चित छिन्, जसले उनलाई राष्ट्रिय उमेर समूहका टोलीका साथै सिनियर टोलीमा नियमित सदस्य बन्न मद्दत गर्यो ।
२० वर्षीया रितुको जन्म रंगमाटी जिल्लाको काउखाली उपजिल्लामा सन् २००३ मा भएको हो । उनी सानैदेखि फुटबलमा लागिन् । सन् २०१५ मा उनका बुवा बोलज बासी चक्माको क्यान्सरका कारण निधन भयो ।
उनी घरको जेठी सन्तान त होइनन् तर, मुख्य व्यक्ति नै गुमाएपछि अन्य सदस्यमा पनि स्वाभाविक रूपले जिम्मेवारी बढ्यो ।
“मैले फुटबलबाट कमाएको पैसा परिवारलाई दिन्छु । मेरा दिदीबहिनीले पनि परिवारलाई अलिकति सहयोग गरिरहनुभएको छ । फुटबल क्याम्पबाट हरेक महिना पाउने १० हजार रुपैयाँमध्ये मैले आमा र कान्छो भाइलाई ७ हजार पठाउँछु । तीन दिदीबहिनीको विवाह भइसकेको छ,” रितुले पुरानो अन्तर्वार्तामा भनेकी थिइन् ।
“मलाई लाग्छ, यो मेरो लागि ठूलो उपलब्धि हो । किनभने मैले यो उमेरमा मेरो परिवारलाई आर्थिक रूपमा मद्दत गरिरहेको छु । मेरो परिवारले ममा गर्व महसुस गर्छ,” १७ नम्बर जर्सी लगाउने मिडफिल्डर रितुले भनेकी थिइन् ।
रितुले सन् २०१२ देखि फुटबल खेल्न थालेकी थिइन् । सन् २०१३ मा बंगमाता गोल्डकप फुटबल प्रतियोगितामा विद्यालयको प्रतिनिधित्व गरेसँगै उनको करियरले गति लियो ।
त्यसपछि उनी सन् २०१६ मा बंगलादेश क्रिरा शिक्षा प्रतिष्ठानमा भर्ना भएकी थिइन्, जसमा उनलाई साफ यू-१५ महिला च्याम्पियनसिपको राष्ट्रिय क्याम्पमा बोलाइयो ।
मासिक रकम प्रमाणित गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा राम्रो नतिजा पाएपछि रितु परिवारलाई सहयोग गर्न अगाडि बढिन् । “बोनसको केही हिस्सा परिवारका गतिविधिमा खर्च हुन्छ र बाँकी मेरो भविष्यका लागि जम्मा हुन्छ,” अन्य महिला फुटबल लिग खेलेर पनि पैसा कमाइरहेकी रितुले भनेकी थिइन् ।
उनका एक शिक्षकले रितुलाई फुटबलमा ल्याएको भए पनि बुबा बोलाज उनको लागि मुख्य प्रेरणा थिए ।
”बुवाको बारेमा सोच्दा मलाई साँच्चै नराम्रो लाग्छ । म अहिले राष्ट्रिय टोलीबाट खेल्दैछु भन्ने मेरो बुबाले हेर्नुभएको भए धेरै राम्रो हुन्थ्यो,” रितु भन्थिन् । उनलाई पनि आफ्नो आइडल सबिना खातुनजस्तै विदेशी लिग खेल्ने रहर छ ।
”विदेशमा खेल्ने मेरो सपना छ र त्यो पूरा गर्न म राम्रो फुटबलर बन्नुपर्छ । म बंगलादेशको टोलीलाई पनि उच्च स्तरमा लैजान चाहन्छु,” रंगामाटीकी उत्कृष्ट खेलाडी भन्थिन् ।
भाइको मृत्युको चोट बिर्साउन फुटबललाई बनाइन् औषधि
सन् २०२२ को कुरा हो । नेपालमा साफ च्याम्पियनसिप चलिरहेको थियो । त्यस बेला पनि उनी बंगलादेश टोलीमा थिइन् ।
पाकिस्तानविरुद्ध गोल गरेलगत्तै रितुले आकाशतिर हेरेर प्रार्थनाजस्तो केही गरिरहेकी थिइन् । बंगलादेश टोलीका उत्कृष्ट मिडफिल्डरमध्येकी एक रितुले त्यो प्रार्थनाका लागि यही गोल उत्सुकतापूर्वक पर्खिरहेकी थिइन् ।
बंगलादेशको पहिलो दुई खेलमा रितु सुरुवाती-११ मा समावेश भएकी थिइनन् । माल्दिभ्सविरुद्ध वैकल्पिक खेलाडीको रूपमा उत्रँदा उनी स्कोर सिटमा परिनन् । त्यसैले पाकिस्तानविरुद्ध गोल गर्न आतुर थिइन्, रितु ।
खेलमा पाकिस्तानविरुद्ध बंगलादेशले ५-० को अग्रता लिएको थियो र जितबाट कति पनि टाढा थिएन । वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेकी रितुले बंगलादेशका लागि छैटौँ र अन्तिम गोल गरिन् । त्यसपछि उनी खुसीसँगै भावुक बनिन् ।
रितुले उक्त गोल आफ्ना दिवङ्गत भाइ परवन चक्मालाई समर्पित गरिन् । सोही वर्षको जुन २९ मा परवनको विद्युतीय करेन्टबाट मृत्यु भएको थियो ।
रितुको अनुहारमा भाइ गुमाएको पीडा अझै देखिन्थो । जीवनभरि भरिपूर्ण र अनुहारमा सधैँ मुस्कान रहने उनी उक्त घटनापछि पूर्ण रूपमा स्तब्ध थिइन् ।
पाकिस्तानविरुद्ध गोल गरेपछि रितु होटल फर्कने क्रममा टिमसँगै चढेको बसमा पनि रोएकी थिइन् । होटलमा पनि उनी आँखा चिम्लेर रोएकी थिइन् । नेपाल आर्मी हेडक्वार्टर मैदानमा प्रशिक्षण सत्रमा सहकर्मी रमाइलो मुडमा थिए भने रितु उदास देखिन्थिन् ।
उनका तीन दिदीबहिनी भारती चक्मा, पम्पी चकमा र पुतुली चकमा विवाहित हुन् । परवन चार दिदीबहिनीको एक्लो भाइ थिए र उनीहरुको आँखाको नानी पनि थिए । परवन गुमाउँदा रितु निकै पीडामा परेकी थिइन् ।
रितु परवनभन्दा दुई वर्ष जेठी हुन् । सन् २०१७ मा राष्ट्रिय उमेर स्तरीय टोलीमा बोलाइएपछि रितुले खेलेका हरेक खेल परवनले हेर्थे । त्यसैले पाकिस्तानविरुद्ध गोल गरेपछि रितुको दिमागमा परवन आए ।
“म मेरो भाइको बारेमा हरेक सेकेन्ड सोच्छु । मलाई लाग्छ कि ऊ अझै मसँग छ । गोल गरेपछि म धेरै रोएँ । मैदानमा उत्रिनुअघि म दृढ थिएँ कि मैले गोल गर्नुपर्छ, चाहे जस्तोसुकै भए पनि । मैले गोल मेरो भाइलाई समर्पित गरेँ,’ रितुले भनेकी थिइन् ।
सन् २०२१ मा ढाकामा भएको यू-१९ साफ महिला च्याम्पियनसिप बंगलादेशले जितेको थियो । उक्त प्रतियोगितामा रितुले भुटानविरुद्ध एक गोल र श्रीलंकाविरुद्ध दुई गोल गरेकी थिइन् । उनको गोल सामाजिक सञ्जालमा भाइरल समेत भएको थियो ।
साफमा पाकिस्तानविरुद्धको खेलमा रितुले गरेको गोल पनि शानदार रह्यो । तर, यस्तो गोल गरेपछि पनि रितु दुखी भइन् । ‘यदि भाइले मैले गरेको गोल देख्न सक्थ्यो भने उसले मलाई खेलपछि बोलाउने थियो । र, भन्ने थियो- दिदि, तिमी भाइरल भयौ, तिमी सेलिब्रेटी भयौ ।’ यू-१९ साफ च्याम्पियनसिपपछि उनले भनेकी थिइन् ।
रितुले अन्तिमपटक परवनसँग सो वर्षको २८ जुनमा कुरा गरेकी थिइन् । बंगलादेश फुटबल महासङ्घ (बीएफएफ)ले जुन २३ र २६ मा मलेसियासँगको मैत्रीपूर्ण खेलपछि राष्ट्रिय टोलीको क्याम्प रद्द गरेको थियो । रितु २९ जुनमा ढाकाबाट रंगामाटीको लागि बस चढेकी थिइन् ।
उनले त्यो दिन केही भयानक हुनेवाला महसुस गरिन्, “उसले (भाइ) सामान्यतया मलाई फोनमा धेरै कल गर्दैन । त्यो दिन उसले मलाई बोलाएर भन्यो- बाई, तिमी कहिले फर्कने ?”
‘हामी दुवैले सँगै मतदाता नाम दर्ता गराउनुपर्ने थियो । भोलिपल्ट, मैले बसको टिकट किनेँ । त्यो दिन बसमा बस्दा मलाई बेचैनी लाग्यो । अघिल्लो रात मैले एउटा दुस्वप्न देखेँ । घर जानुअघि मैले मेरो रुममेट तहुरा (खातुन) लाई मलाई केही नराम्रो भयो भने माफ गरिदिन भनेँ ।’
रितु घर जाने क्रममा भाइको दुर्घटना भएको थियो तर, बाटोमा जाँदा के भयो भनेर उनलाई जानकारी दिइएन । घर पुगेपछि रितुले त्यो भयानक घटनाबारे थाहा पाइन् ।
फुटबलले रितुलाई धेरै देशमा पुर्याएको छ । घर फर्किदाँ उनी आफ्नो भाइको लागि चकलेट ल्याउँथिन्, जुन उसलाई मन पर्थ्यो । अब रितु सोचिरहेकी छन्, ‘यतिबेला मैले कसका लागि चकलेट ल्याउने ?’
परवनको मनपर्ने फुटबलर लियोनल मेस्सी थिए, रितुको क्रिस्टियानो रोनाल्डो । दुई दिदिभाइमा यीमध्ये को उत्कृष्ट भन्ने बहस अन्तहीन हुन्थ्यो । ती सम्झनाले अहिले रितुलाई सताउँछ र आँखामा आँसुको भेल ल्याउँछ ।
आफूलाई यस्तो भएको छ भने आमालाई के भइरहेको छ भन्ने सोचेर रितुलाई झनै नराम्रो लाग्छ ।
“मेरा दिदीबहिनीको विवाह भइसकेको छ । फुटबलका कारण घरबाट टाढा बस्छु । अब, घर छोडेर जाँदा म आफैँलाई नियन्त्रण गर्न सक्दिनँ । म मेरी आमाको अगाडि भावुक नबन्न कोसिस गर्छु तर, म आफ्नो आँसुलाई भित्रै राख्न सक्दिनँ । मेरी आमा अहिले धेरै एक्लो छिन् ।” उनी भन्छिन् ।
फुटबल मैदानमा भाइ गुमाएको दुःख बिर्सन चाहन्छिन् रितु । “अहिले ममाथि धेरै जिम्मेवारी छ । म आफू र आमालाई सान्त्वना दिने प्रयास गर्छु । म धेरै टाढा जानुपर्छ। मलाई थाहा छ, पेशेवर फुटबलरको जीवन यस्तै हुन्छ । म फुटबल मैदानमा पीडा बिर्सने प्रयास गर्छु । जिन्दगी कसैको लागि रोकिँदैन ।”
अहिले उक्त घटनाको दुई वर्षभन्दा बढी समय भइसकेको छ । उनी त्यो बेलाको भन्दा मानसिक रूपले अहिले निकै बलियो भएको देखिन्छन् । जुन बुधबार राति मात्र सम्पन्न भएको साफ च्याम्पियनसिपमा समेत प्रष्ट देखियो ।