चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो।
बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको छ । यस्तै अन्य जिल्लामा पनि महसुस भएको छ । बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौँवासी होहल्लासहित घरबाहिर निस्केका थिए ।
विद्यालयमा बिहानी कक्षाहरू सुरु भइसकेको हुनाले विद्यार्थी तथा शिक्षकहरूले भूकम्पको कम्पन महसुस गरेका थिए। केही सेकेन्डसम्म मात्र भूकम्पको कम्पन भएको हुनाले विद्यार्थी वा शिक्षक बीच कुनै प्रकारको तनाव, अत्तालिने वा अनायास कुनै प्रकारको घटना नभएको जानकारी प्राप्त भएको छ।