No title

 


घरमा ससुरा र बुहारी हुन्छन् । ससुरा सोफामा बसेर टिभी हेरी रहेका हुन्छन् । बुहारी भान्सामा हुन्छिन् । कलिङ्ग बेल बज्छ । बुहारी ढोका खोल्न जान्छिन् ।

  - तपाईं को हुनु हुन्छ ? कति कामले पाल्नु भयो ? 

  - म एउटा एनजिओवाट महिलाहरूको तथ्याङ्क लिन आएकी हूँ ।

 बुहारी बोलेको सुनेर ससुरा ढोका बाहिर आउँछन् । 

  - को हो दुुलही ? यिनी को हुन ? 

 - बाबा ! वहाँ महिलाहरूको तथ्याङ्क लिन आउनु भएको रे ।

 ससुराले भने - अँ , सोध्नुस् , तपाईलाई कस्तो तथ्याङ्क चाहिएको हो ? 

  - हजूरसंग होइन वहाँसंग लिनु पर्छ ।

 - उनले भन्ने जवाफ म दिन्छु सोध्नुस् । ससुराले भन्छन् ।

 - हजूरको बुहारीले जागिर खानु हुन्छ कि हाउस वाइफ हो ?

 बुहारीले हाउस वाइफ भन्नै खोजेकी  थिइन् , ससुराले जवाफ दिन्छन् - जागिर खान्छिन् ।

 - कुन संस्थामा वा सरकारी जागिरमा ?

  - नर्स हुन उनी । विहान देखि राती सम्म म र मेरी पत्नीले ओैषधी खायौं कि खाएनौ , त्यसको हिसाब राख्छिन् । वेला - वेलामा हाम्रो ब्लड प्रेसर चेक गर्छिन् । ओैषधी खाने वेला भयो कि ओैषधी र पानी ल्याएर अगाडि राखेर खान निर्देशन दिन्छिन् । विहान वा बेलुका भए पनि चार - पाँच किलोमिटर हिंड्न लगाउँछिन् । मलाई मन पर्ने पुस्तकहरू किनेर ल्याएर पढ्न दिन्छिन् ताकि म बोर न होऊँ । हामीलाई छोरीको जस्तै माया दिन्छिन् । यसो भनूँ , उनी नर्स भन्दा पनि माथी छिन् ।

 हाम्री बुहारी बेबी सिटर पनि हुन । नाति - नातिनालाई नुहाउने - धुवाउने , ख्वाउने - पिउने , स्कुल पठाउने , राती लोरी गाएर सुताउने सबै काम यिनले नै गर्छिन् ।

  यिनी ट्यूटर पनि हुन । केटाकेटीहरूलाई पढाउने काम यिनकै हो ।

  यिनले एउटा रेष्टुरेण्ट पनि चलाएकी छिन् । विहान ६ बजे देखि राती ९ बजे सम्मको , जसलाई हामीले किचन भन्छौं । विहानको चिया - नास्ता देखि दिउसोको खाना , अपराह्नको नास्ता र रातीको खाना । वेलामौकामा फरमाइस अनुसार खानेकुरा पनि बनाएर ख्वाउँछिन् । अतिथि सत्कारमा  यिनले महारत हासिल गरेकीछिन् । घरमा पाहुना आउँदा खुशी साथ सत्कार गर्छिन् । सदैव हँसिलो अनुहार हुन्छ , उनको मुहारमा , कहिल्यै मलिनता झल्किन्न ।

  यिनी मेरो छोराको सल्लाहकार पनि हुन , असल सल्लाह दिने गर्छिन । यिनकै कारण उसले आनन्दसंग जागिर खान पाएको छ । यो घरलाई यिनले आफ्नो मायाले प्रेमालय बनाएकीछिन् ।यिनी कहिले - काहीँ माइत जाँदा घर नै शून्य हुन्छ ।

Post a Comment

Previous Post Next Post